बीपी राजमार्गको दोस्रो खण्डको पनि लाग्यो ठेक्का

काठमाडौं । गत असोज दोस्रो साता आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणले गति लिने भएको छ । सरकारले बीपी राजमार्ग पुनर्निर्माणका लागि धमाधम ठेक्का लगाएसँगै निर्माणले गति लिने देखिएको हो ।

४ खण्डमा विभाजन गरी पुनर्निर्माण गर्न लागिएको बीपी राजमार्गको दोस्रोखण्डको पनि ठेक्का लागेको छ । सिन्धुलीतर्फको बर्खेखोला नेपालथोक ४ किमी सडकखण्ड पुननिर्माणको ठेक्का लगाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयको अनुसार यस खण्डको ठेक्का खरिढुंगा/घिसिङ/क्षितिज जेभीले पाएको हो । डिभिजन कार्यालयले गत चैतमा ठेक्का आह्वान गरेको थियो । जसमा ११ कम्पनीले बोलपत्र पेस गरेकोमा खरिढुंगा/घिसिङ/क्षितिज जेभीले सबैभन्दा कम बोलकबोल गरी ठेक्का हात पारेको हो ।

कम्पनीले ६१ करोड १४ लाख रुपैयाँमा ठेक्का पाएको हो । यसखण्डको लागत १ अर्ब रुपैयाँ अनुमान गरिएको हो ।

गतसाता मात्रै काभे्रखण्डको चारसयबेँसीदेखि डालबेँसीसम्मको ८.५ किलोमिटर सडक पुननिर्माणको ठेक्का लगाइएको थियो । उक्त सडक पुननिर्माणको ठेक्का थानी/एवान/कमलजीत जेभीले १ अर्ब ४२ करोड रुपैयाँमा पाएको हो ।

कम्पनी छनोट भएसँगै अब सम्झौता गरेर निर्माण अघि बढाइने डिभिजन कार्यालयले जनाएको छ ।

बाढीले क्षतिग्रस्त बीपी राजमार्गको २९ किमी सडक ४ खण्डमा विभाजन गरी पुनर्निर्माण गरिँदै छ । जसमा दुई खण्डको ठेक्का लागिसकेको छ भने काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेंसीदेखि चारसय बेँसीसम्मको करिब ११ किमी खण्डको पनि टेन्डर आह्वान भइसकेको छ । यो खण्डको पनि चाँडै ठेक्का लाग्ने कार्यालयले जनाएको छ ।

बर्खेखोलादेखि डालाबेँसीसम्मको ५.५ किलोमिटर सडक पुनर्निर्माण भने जापान सरकारले गरिदिने भएको छ । हाल जाइकाले स्थलगत अध्ययन गरिरहेको छ ।

बीपी राजमार्ग क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि नेपाल सरकारले ८ अर्ब ५० करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । त्यस बजेटमध्येबाट काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुलीतर्फको खण्डका लागि १ अर्बले सडकको स्थायी पुनर्निर्माण गरिनेछ ।


Back_to_top