काठमाडौं । यात्री डिजाइन स्टुडियोले तयार पारेको पहिलो ‘मेड इन नेपाल इलेक्ट्रीक स्कुटर’ आगामी नाडा अटो शोमा प्रर्दशन हुने भएको छ । सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकलको संयुक्त लगानीमा तयार भएको स्कुटर भदौ ४ गतेदेखि सुरू हुने नाडा अटो शोमा प्रर्दशनीसँगै बुकिङ खुला हुने भएको हो ।
स्कुटरको मोटर भएकै स्थानमा ‘मेड इन नेपाल’ प्रयोग भएको टिजर कम्पनीले यसअघि नै बाहिर ल्याइसकेको छ । यात्री पी-टु स्कुटरको सम्पुर्ण डिजाइन र डेभलपमेन्टको काम नेपाल मै गरिएको हो ।
यात्री डिजाइन स्टुडियोले नेपालमै पहिलो पटक यात्री पी-जिरो र यात्री पी-वान मोटरसाइकल सार्वजनिक गरेको थियो । नेपालमै रिसर्च एण्ड डेभलपमेन्ट गरिएको यात्री पहिलो दुईपाँग्रे ब्रान्ड हो ।
यात्रीले पी-जिरो लिमिटेड एडिशनका रुपमा ल्याएको थियो । तर, पी-वान मोटरसाइकल भने अहिले पनि बिक्री गर्दे आएको छ । कम्पनीको तेस्रो उत्पादनको रुपमा पी-टु स्कुटर आउन लागेको हो ।
देशकै ठूलो अटोमोबाइल ब्यवसाय गर्ने सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकलको संयुक्त जेभी कम्पनीले निर्माण गरेको पी-टु आगामी नाडा अटो शोबाट उपभोक्ता माझ सार्वजनिक हुनेछ । यसको बिक्री सेप्टेम्बरबाट सुरु हुने कम्पनीको भनाइ छ ।
कम्पनीले सार्वजनिक गरेको तस्बीरका अनुसार यात्री पी-टुमा मिड माउन्ट मोटर हुनेछ । यात्रीले स्कुटरमा ट्यूवलेस अलोय ह्वीलको प्रयोग गरेरको छ । दुबै ह्वीलमा डिस्क ब्रेक दिनेछ । यात्री पी-टुमा सार्प एजहरुको प्रयोग गरेर डिजाइन तयार पारेको अनुमान गर्न सकिन्छ ।
रियर साइड प्यानल हेर्दा यो स्कुटरको स्पोर्टी डिजाइनमा रहेको अनुमान गर्न सकिन्छ । स्पोर्टी डिजाइनमा आउने यो स्कुटरमा ७ देखि ८ किलोवाट पावरको मोटर हुने अनुमान गर्न सकिन्छ ।
यात्रीको सोसल मिडिया पेजमै आज (बुधबार) अर्को पोष्ट गर्दै ब्याट्री परीक्षण भइरहेको जानकारी दिएको छ । कम्पनीले बुढानिलकण्ठ, टोखा, छहरेको बाटोमा ब्याट्री प्रयोग गर्दा १०० किलोमिटरभन्दा धेरै रेन्ज पाएको उक्त पोष्टमा उल्लेख ।
दुई ब्याट्री र मोटर अप्सनमा आउने पी-टु मूल्यका हिसावले पनि आकर्षक हुने अनुमान गरिएको छ । कम्पनीले पी-टुमा ३ देखि ४ किलावाट आवरको ब्याट्री अप्सन दिनेछ ।

