काठमाडौं । नेपालमा निजी सवारी साधन चढ्नेको संख्या वर्षेनी बढ्दो क्रममा छ । सार्वजनिक यातायात भरपर्दो, सुविधायुक्त, छिटो छरितो नहुँदा मानिसहरू निजी सवारीतर्फ आकर्षित भइरहेका हुन् ।
सार्वजनिक यातायातमा हुने ढिलासुस्ति, भोग्नुपर्ने सास्ती, अपमानका कारण पनि मानिसहरू बाध्यतात्म विकल्पमा निजी सवारी तर्फ डाइभर्ट भएको देखिन्छ ।
विकसित देशहरूमा सार्वजनिक यातायात पहिलो रोजाइमा पर्छ । नेपालमा भने ठीक उल्टो छ । सार्वजनिक सवारी रोजाइ होइन, बाध्यता बनेको छ । अर्थात् निजी सवारी खरिद गर्न नसक्नेले मात्रै सार्वजनिक सवारी प्रयोग गर्छन् । मध्यम वर्गीयले ऋणै गरेर भए पनि निजी सवारी किन्ने ट्रेन्ड बढ्दै गएको देखिन्छ ।
यद्यपि, विकसित देशको तुलनामा भने नेपालमा निजी सवारी हुनेको संख्या न्यून छ । नेपालमा निजी सवारीमा दुईपाँग्रेको हिस्सा उच्च छ । कुल निजी सवारीमध्ये मोटरसाइकल/स्कुटरको हिस्सा ९० प्रतिशत माथि छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा बसोबास गर्ने एक चौथाई अर्थात् २७.३ प्रतिशत नेपालीसँग मात्रै मोटरसाइकल/स्कुटर रहेको छ । देशभर कुल ६६ लाख ६० हजार ८४१ परिवार रहेकोमा १८ लाख १६ हजार १२१ परिवासँग मात्रै मोटरसाइकल रहेको तथ्यांक छ ।
२०७८ यता हालसम्म कति परिवारले दुईपाँग्रे सवारी किने एकीन तथ्यांक छैन । जनगणना यताका ३ वर्षमा थप ३ लाख मोटरसाइकल/स्कुटर थपिएका छन् । यो समेत जोड्दा नेपालका २० लाख बढी परिवारसँग दुईपाँग्रे सवारी रहेको आकलन छ ।
जनसंख्याका आधारमा भने नेपालका करिब १५ प्रतिशत व्यक्तिसँग मोटरसाइकल/स्कुटर छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार हाल नेपालको जनसंख्या २ करोड ९८ लाख ५६ हजार रहेको छ । एकीन तथ्यांक नभए पनि हाल नेपालमा दुईपाँग्रे सवारीको संख्या ४५ लाख नाघेको अनुमान छ । सो आधारमा कुल जनसंख्यामध्ये १५ प्रतिशतले दुईपाँग्रे सवारी चढ्ने देखिन्छ ।
जनगणना अनुसार ७ प्रदेश मध्ये सबैभन्दा धेरै बागमती प्रदेशका ३५.८ प्रतिशत परिवारसँग मोटरसाइकल/स्कुटर छ । त्यसैगरी, मधेशका ३४.१ प्रतिशत, लुम्बिनी २५.५ प्रतिशत, कोशी २४.८ प्रशिशत, सूदूरपश्चिम १५.६ र कर्णालीका ६.७ प्रतिशत परिवारमा दुईपाँग्रे सवारी साधन छ ।
नेपालमा चारपाँग्रे निजी सवारी हुने परिवारको संख्या भने अति न्यून छ । जनगणना अनुसार नेपालमा बसोबास गर्ने कुल परिवार मध्ये ३.१ प्रतिशत परिवारमा मात्रै कार/जीप/भ्यान रहेको छ । कुल ६६ लाख ६० हजार ८४१ परिवार मध्ये २ लाख ४ हजार ९९० परिवासँग कार/जीप/भ्यान रहेको छ । जसमा बागमतीका ६.४ प्रतिशत, गण्डकी ३.६ प्रतिशत, कोशी ३.१ प्रतिशत, लुम्बिनी २.५ प्रतिशत, मधेश १.४ प्रतिशत, सुदूरपश्चिम १.१ र कर्णालीमा सबैभन्दा कम ०.८ प्रतिशत परिवासँग मात्र कार, जीप भ्यान छ ।
जनगणना अनुसार नेपालमा साइकल हुने परिवारको संख्या भने एकतिहाइ बढी रहेको छ । कुल परिवार मध्ये ३५.२ प्रतिशत परिवारसँग साइकल रहेका तथ्यांक छ । कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २३ लाख ४७ हजार ४३३ परिवारसँग साइकल रहेको छ ।

