काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी सिट्रोनले सब कम्प्याक्ट एसयूभी सीथ्रीको स्पोर्ट एडिशन लन्च गरेको छ । सीथ्री स्पोर्ट एडिशन स्टाइल र पर्सनालिटी चाहने युवालाई लक्षित गरेर डिजाइन भएको कम्पनीको दावी छ ।

सीथ्री स्पोर्ट एडिशनमा स्पोर्टी सिट कभर, फ्लोर म्याट र लामो यात्राको लागि आरामदायी सीट बेल्ट र कुशनको प्रयोग गरिएको छ । नयाँ एडिसनमा एम्बीयन्ट लाइट, वायलेस चार्जर, ड्यासक्याम जस्ता क्याविन फिचर दिएको छ । जसले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको भनाइ छ ।
सिट्रोनले नयाँ स्पोर्ट एडिशनलाई स्पोर्टी देखाउन विभिन्न किसिमका भिजुअल अपग्रेड गरेको छ । कारको बडीमा स्पोर्ट डीकेल्स दिएको छ भने, नयाँ गार्नेट रेड एक्टेरियर कलर पहिलो पटक दिएको छ ।
फ्रेन्च निर्माताले सिट्रोन सीथ्रीमा दुई इन्जिन अप्सन दिएको छ । पहिलो १.२ लिटर प्योरटेक ८२ नेचुरल एस्पीरेटेड इन्जिनले ८२ हर्सपावर तथा ११५ न्यूटन मिटर टर्क दिन्छ । यसमा ५ स्पीड म्यानुअल गियरबक्स दिएको छ ।
दोस्रो १.२ लिटर प्योरटेक ११० टर्बो इन्जिन छ । उक्त इन्जिनले १०८ हर्सपावर र २०५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । उक्त इन्जिनसँग ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।

