काठमाडौं । सरकारले सवारी साधनमा नयाँँ प्रदूषण मापदण्ड लागू गरेको छ । वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२’ लागू गरेको हो ।
राजपत्रमा प्रकाशित सूचना अनुसार अब नेपालमा आयात हुने सवारी साधन तथा पार्टपूर्जामा युरो ५ र युरो ६ मापदण्ड लागू हुनेछ ।
जसमा दुईपाँग्रे, तीनपाँग्रे (चारपाँग्रे लघुसहित) युरो ५ र चारपाँग्रे सवारी साधनमा युरो ६ मापदण्ड लागू हुनेछ । यस अनुसार अब नेपालमा आयात हुने स्कुटर/मोटरसाइकल, तीनपाँग्रे रिक्सा र खाली सवारीको तौल ३५० केजीसम्म भएका चारपाँग्रे सवारी साधन अनिवार्य युरो ५ मापदण्डको हुनुपर्नेछ ।
त्यस्तै, कार, डेलिभरी, भ्यान, माइक्रोबस, ठूला बस लगायत सवारी साधन भने अनिवार्य युरो ६ मापदण्डको हुनुपर्नेछ ।
ट्रयाक्टर, पावर ट्रिलर, डोजर, क्रेन, रोलर, एक्साभेटर जस्ता निर्माण उपकरण तथा रक्षा मन्त्रालयको सिफारिसमा आयात हुने सैनिक प्रयोजनका विशेष सवारी साधनमा भने यो मापदण्ड लागू नहुने मन्त्रालयले जनाएको छ ।
नयाँ मापदण्ड नयाँ आयात हुने सवारी साधनको हकमा मात्र लागू हुने भएको छ । हाल संचालनमा रहेका र सवारी आयातका लागि प्रतीतपत्र वा बैंकको माध्यमबाट भुक्तानी गरिसकिएको सवारीको हकमा लागू हुने छैन ।
नयाँ मापदण्ड अनुसार विभन्न ७ चरणमा सवारी साधनको प्रदूषण परीक्षण गरिने छ । जसमा सवारी साधनका उत्सर्जन हुने कार्बन मोनो अक्साइड, हाइड्रो कार्बन, गैरमिथेन हाइड्रो कार्बन, नाइट्रोजन अक्साइडको मात्रा, कणजन्य पदार्थको मात्रा र कण संख्या, प्रदूषण कारक पदार्थ र सूचक, इन्जिनबाट हुने उत्सर्जन, वाष्पिक उत्सर्जन लगायत परीक्षण गरिने छ ।
सरकारले १३ वर्षपछि सवारी साधनमा नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको हो । यसअघि ‘सवारी प्रदूषण मापदण्ड २०६९’ अनुसार युरो ३ वा सो सरहका मापदण्डका सवारीसाधन मात्रै आयात गर्न पाउने व्यवस्था थियो ।


