मर्सिडिजको इलेक्ट्रीक रेसिङ कार ‘एमजी जीटी एक्सएक्स’, के छ खास ?

काठमाडौं । जर्मन लग्जरी कार ब्राण्ड मर्सिडिजले रेसिङ कार ‘जिटी एक्सएक्स’ इलेक्ट्रीक कन्सेप्टको तस्बिरहरू बाहिर ल्याएको छ । कम्पनीले एएमजी जीटीमा अगाडि र पछाडि नै मोटर दिएको हो ।

यसमा दिइएको दुवै मोटरको संयुक्त पावर एक हजार ३६० हर्स पावर हुनेछ । एएमजी जीटीको टप स्पीड क्षमता पनि ३६० किलोमिटर प्रतिघण्टा रहनेछ ।

मर्सिडिजले यसमा ११४ किलोवाट आवारको एनएमसी ब्याट्री प्याक दिने जनाएको छ । जर्मन ब्राण्डले यसलाई निकै ठूलो डीसी चार्जर सपोर्ट गर्न सक्ने बनाएर ल्याएको हो । यसमा रहेको ब्याट्रीलाई ८५० किलोवाटसम्मको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ । अझ रोचक के छ भने फास्ट चार्जरले जम्मा ५ मिनेट रिचार्ज गर्दा ४०० किलोमिटर गुड्न पुग्ने चार्ज थपिन्छ ।

यसको अर्को रोचक पक्ष के हो भने यसमा आवश्यकता अनुसार आफैँ खुल्ने र बन्द हुने मुभिङ ब्लेड भएको ह्वील दिएको छ । ह्वील तातेको खण्डमा आफैँ खुलेर ह्वील चिस्यान सहयोग गर्छ, अन्यथा बन्द भएर एरोडाइनामिक्स बढाउन सहयोग गर्छ । ह्वील साइज भने २१ इन्चको छ ।

कम्पनीले एएमजी जीटी कारको एरोडायनामिक बढाउन यसको ड्रयाग कोफिसियन्ट मात्र ०.१९८ मा सिमित राखेको हो । कम्पनीले यसमा १० वटा भर्टिकल स्ल्याट्स सहितको ‘पानामेरिकाना ग्रील’ दिएको छ । कारको पछाडि दिइएको एमबीयूएक्स फ्ल्ड लाइट प्यानलमा कन्फिगर गर्न सकिने ७०० वटा आरजीबी एलईडी दिएको छ ।

बीएमडब्लू एएमजी जीटी कारको इन्टेरियर डिजाइन हाइपर कारको जस्तो हुनेछ । सुन्तला र कालो कलरले सजिने इन्टेरियरले लग्जरी फिल गराउँछ । यो कारमा चालकको सुविधाका लागि कार्बन फाइबरले बनेको बकेट सिट दिएको छ ।


Back_to_top