काठमाडौं । प्रविधिको विकाससँगै सवारी साधनमा धेरै परिर्वतनहरु आएको पाइन्छ । केही वर्ष अगाडिसम्म बाइक तथा स्कुटरको टायर बीच बाटोमा पन्चर भएपछि डोर्याउदै हिडेको देख्न सकिन्थ्यो । तर, अहिले त्यसरी पन्चर नै भएर डोर्याएको देख्न बिरलै पाईन्छ ।
बाइक तथा स्कुटरमा आजभोलि प्राय सबैमा ट्युवलेस टायर रहने हुँदा यसमा ट्युवको सट्टा लिक्वीडको प्रयोग गरिएको हुन्छ । यसरी प्रयोग गरिने लिक्वीडले तपाईको टायर पन्चर भएपनि आफै टालिदिन्छ ।
के हो लिक्वीड ?
नेपाली बजारमा आइरहेको यस्तो लिक्वीडको नाम हो ‘ग्रान्ड’ । यस्ता लिक्वीड हरेक ग्यारेज र जुनसुकै मोटरसाइकलका पाटपुर्जा खरिद गर्ने स्थानमा सहजै पाउन सकिन्छ ।
एक लिटरको बट्टामा आउने उक्त लिक्वीडले टायरमा ६ एमएमसम्मको प्वाल पर्दासमेत आफैँ टाल्ने क्षमता राख्छ । यसको खुद्रा मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ पर्छ तर, वर्कसपमा लगेर तपाईले लिक्वीड हाल्नुभयो भने ५ सय रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।
कसरी प्रयोग गर्ने?
एक बट्टा लिक्वीड एउटा टायरमा पुरै प्रयोग गर्नु पर्छ । यसलाई सकभर सुरुमै नयाँ टायरमा हाल्नु पर्छ । तपाईले किन्ने नयाँ बाइकमा यस्तो लिक्वीड प्रयोग भएको हुँदैन । नयाँ बाइक तथा स्कुटर किनेपछि अतिरिक्त खर्चमा यसलाई ग्यारेजमा गएर हाल्नु पर्ने हुन्छ ।
लिक्वीडसँगै रबरका केही साना टुक्राहरु मिसायर टायरमा हाल्दा त्यसले पछि प्वाल परेको स्थानमा रिफिलिङ गर्ने काम गर्छ । जसले तपाईलाई ढुक्कसँग यात्रा गर्न सक्ने बनाउँछ ।
अटो पाटर्स व्यवसायी राजु खड्काका अनुसार यो लिक्वीडले किल्लाले प्वाल पारेको खन्डमा आफै टाल्ने काम गर्छ । अन्य ठूला प्वाल परेको खन्डमा यसले काम गर्दैन ।


