एनटर्क स्कुटरको सफलता भित्र लुकेका राज

काठमाडौं । नेपाल आएदेखि नै निरन्तर ग्राहकको रोजाइमा पर्न सफल टीभीएस एनटर्क १२५ स्पोर्टी डिजाइन र पावरको कारण सफल भएको मानिन्छ । डिजाइन र पावरका अलावा पनि एनटर्कलाई सफल बनाउने धेरै कुरा छन् ।

जगदम्बा मोटर्सले टीभीएसको आधिकारिक बिक्रेता लिएदेखि नै उपभोक्ता बीच चल्दै आएको पार्टसको समस्या छ भन्ने हल्ला चिर्न कम्पनीले धेरै काम गरेको थियो । त्यसमा आक्रमक नीति लिएको जगदम्बा मोटर्सले उपभोक्तालाई स्पेयर पार्टसमा ढुक्क हुन नेटवर्क विस्तार गर्नेदेखि समय तोकेरै सर्भिस दिनेसम्मको काम गरेको थियो ।

बजारमा स्कुटरको संख्या वृद्धिसँगै १२५ सीसी सेग्मेन्टमा यसले निकै ठूलो सफलता पायो । नेपाल आएको ४ वर्षमा नै एक लाख युनिट पूरा गर्दै यसले इतिहास रच्यो ।

हामीले यहाँ एनटर्कको सफलतासँग जोडिएका केही विषयमा चर्चा गरेका छौं ।

युवा केन्द्रित मार्केटिङ

एनटर्क लन्च गर्दा टीभीएसको सीईओ दीपक अग्रवाल थिए । अग्रवाल आक्रमक बजार रणनीतिको लागि चिनिन्छन् । अहिले उनी यामाहा नेपालको सीईओ छन् । उनै अग्रवालले एनटर्क १२५ लाई ‘नेपालको पहिलो रेस ट्युन स्कुटर’को रूपमा प्रचार गरे ।

युवाहरूको स्टाइल र स्पीड प्रतिको रुचीलाई ठ्याक्कै ठम्याएको कम्पनीले त्यसपछि पनि राइड, सोसल मिडिया गतिविधि जस्ता रणनीति लियो । यस्तो मार्केटिङ रणनीतिले एनटर्कलाई बजारमा ट्रेन्डी र कुल स्कुटरको रूपमा उभ्यायो ।

प्रतिस्पर्धी बजारमा फरक पहिचान

हुनत बजारमा यामाहा रे जेडआर र होन्डा ग्राजिया जस्ता बलिया १२५ सीसी सेग्मेन्टका स्कुटर पनि थिए । तर, यी स्कुटरसँग तुलना गर्दा पावर, पर्फमेन्स र डिजाइनमा अरू केही फिका देखिए । अझ कम्पनीले ५/६ भेरियन्टमा एनटर्क ल्याएपछि मूल्यका हिसाबले पनि बलियो बन्यो । उपभोक्ताले आफ्नो बजेट अनुसारको भेरियन्ट खरिद गर्न पाए ।

होन्डा ग्राजिया होस् या यामाहा रे जेडआर दुवै किफायती र व्यवहारिक रूपमा बलिया थिए । तर, १८ देखि ३५ वर्ष उमेर समूहका युवालाई चाहिएको अर्कै थियो । त्यसैले एनटर्क सफल भयो ।

नेपालको माग अनुसारको उत्पादन

नेपालमा स्कुटरको माग अहिले पनि बढ्दो छ । कुल दुईपाँग्रे सवारी साधन बिक्रीको ६० प्रतिशत हाराहारी स्कुटर बिक्री हुन थालेको आयात तथ्यांकमा देखिन्छ । त्यसमा पनि केबल ११८ केजी कर्भ वेट रहेको एनटर्क १२५ जस्तोसुकै बाटोमा चलाउन सकिने भएको कारण उपभोक्ताको रोजाइमा पर्न सफल भयो ।

अर्को कुरा नेपालमा स्कुटरलाई युनिसेक्स मानेर परिवारका सबै सदस्यले प्रयोग गर्ने भएको कारण पनि युवाहरूले यसलाई रोजे । युवाहरूले यूएसबी चार्जर, कल, एसएमएस, ल्याप टाइमर, बाहिरै फ्युल क्याप जस्ता सुविधा खोजिरहेको समयमा एनटर्कले त्यो अफर गरेको थियो । नेपालको भूवनोट अनुसार शक्तिशाली इन्जिन भएका साधन चाहिन्छ । यसमा रहेको इन्जिनले ९.२५ ब्रेकहर्स पावर र १०.५ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

अन्तिममा

एनटर्क १२५ अहिले पनि बजारमा रहेका स्कुटर मध्ये आधुनिक, स्पोर्टी र आक्रमक डिजाइन भएको स्कुटर हो । यसमा दिइएको एलईडी हेडलाइट, बोल्ड ग्राफिक्स र स्टाइलिस अलोय ह्वीलले फरक पहिचान प्रदान गरेको छ । अझ रेस एडिसन, सुपर स्क्वाड जस्ता भेरियन्टले युवालाई नतान्ने कुरै भएन ।


Back_to_top