ड्राइभिङ लाइसेन्सको अवधि र नवीकरण गर्ने मिति दोब्बर बढाइयो

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को अवधि र नवीकरण गर्नुपर्ने समयावधि दोब्बर बनाइएको छ ।

आइतबार प्रतिनिधि सभाले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ सहित एकैपटक ७९ ऐन संशोधन गर्न बनेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा ५४ को उपदफा ३ र दफा ५६ को उपदफा ३ संशोधन गर्दै नयाँ व्यवस्था गरिएको हो ।

ऐनको दफा ५४ को उपदफा ३ मा ‘चालकले अनुमतिपत्र दिइएको मितिले ५ वर्षसम्म बहाल रहनेछ’ भन्ने व्यवस्था छ । त्यसलाई संशोधन गर्दै ‘१० वर्षसम्म’ रहने छ भन्ने नयाँ व्यवस्था थपिएको हो ।

त्यस्तै, दफा ५६ को उपदफा ३ मा ‘नवीकरणको लागि चालक अनुमतिपत्र पेश हुन आएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालक अनुमतिपत्र अर्को ५ वर्षसम्मका लागि नवीकरण गर्नुपर्छ,’ भन्ने व्यवस्था छ । त्यसलाई संशोधन गर्दै ‘१० वर्षसम्मको’ भन्ने नयाँ व्यवस्था थपिएको हो ।

यससँगै अब सवारी चालक अनुमतिपत्र जारी हुँदा नै १० वर्ष अवधिको जारी हुनेछ । त्यस्तै, जारी भएको सवारी चालक अनुमतिपत्र हरेक १०/१० वर्षमा मात्र नवीकरण गर्नुपर्नेछ । हाल नयाँ लाइसेन्स सुरूमा ५ वर्षका लागि मात्रै जारी हुन्छ भने हरेक ५/५ वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ । चालक अनुमतिपत्रमा लेखिएको म्याद नाघेको ३ महिनाभित्र त्यस्तो चालक अनुमतिपत्र नवीकरण गराइसक्नुपर्नेछ ।

त्यस्तै, यस ऐन र प्रदेश कानुन अनुसार दर्ता हुने सवारीको विवरण, चालक अनुमतिपत्रको विवरण, सवारी चालक अनुमतिपत्र सम्बन्धित राजस्व कार्यालयमा भएका विवरण लगायत अन्य वैयक्तिक तथा जैविक (बायोमेट्रिक्स) सहितको एकीकृत विवरण प्राप्त हुने लगरी विभागले सूतना प्रविधिमा आधारित यातायात सेवाको विद्युतीय प्रणाली निर्माण गर्ने व्यवस्था गरिएको छ । विद्युतीय अभिलेख प्रणालीमा विवरण प्रविष्टि गर्दा विभागले तोकेको ढाँचामा गर्नुपर्नेछ ।

उक्त विधेयक राष्ट्रिय सभाले असार १७ गते पारित गरेको थियो । आज प्रतिनिधि सभाबाट पारित भएको उक्त विधयेक अब राष्ट्रपति रामाचन्द्र पौडेले प्रमााणीकरण गरेपछि ऐनको मान्यता पाउने छ । त्यसपछि राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ ।


Back_to_top