दीपलले निकै सस्तो कार ‘अटो शो’बाट बिक्री थाल्ने

काठमाडौं । चिनियाँ ब्राण्ड चांगानले उत्पादन गरेको लुमिन मिनी कार नाडा अटो शोबाट बिक्री सुरू हुने भएको छ । चांगान र दीपलको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धिले मिनी कार लुमिन बिक्री थाल्ने भएको हो ।

झण्डै डेढ वर्ष अगाडि नै नेपालमा बिक्री थाल्ने योजना अनुसार एमएडब्लू वृद्धिले यसको मूल्य प्रकाशित गरेको थियो । कम्पनीले त्यतिबेला लुमिनको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकेको थियो । अब नयाँ आउँदा पनि त्योभन्दा माथि पक्कै हुने छैन ।

यसअघि नेपाल ल्याएको लुमिनमा हिटर थिएन । त्यसैले यसको परीक्षण भयो । तर, बिक्री भने सुरू भएको थिएन । अब यसको केही कुरा परिमार्जन र हिटर थप भएर आउने भएसँग बिक्री थाल्न लागिएको कम्पनी स्रोतले बतायो ।

बजारमा पाइने मिनी कारहरूको साइज जस्तै लुमिनको लम्बाइ ३२७० एमएम, चौडाइ १७०० एमएम र उचाइ १५४५ एमएम छ । मोटरको आधारमा पनि अन्य प्रतिस्पर्धीभन्दा बलियो देखिने लुमिन पृथक डिजाइनको कारण ग्राहकको रोजाइमा पर्न सक्ने कम्पनीको भनाइ छ ।

लुमिन मिनी ईभीमा ३५ किलोवाटको मोटर र २८.०८ किलोवाट आवरको सीएटीएलले बनाएको ब्याट्री रहने छ । यसले एकपटकको फुलचार्जमा ३०१ किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

लुमिन मिनी ईभीको फरक डिजाइनसँगै डीसी फास्ट चार्जर सपोर्ट गर्नु राम्रो पक्ष हो । यसलाई डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सक्छ ।

‘ईपीए जीरो प्योर इलेक्ट्रीक प्लेटफर्म’मा बनेको लुमिन दुई ढोका भएको ४ जनाले आरामदायी यात्रा गर्न मिल्ने विद्युतीय कार हो । यसमा १९८० एमएम लामो ह्वीलबेस रहेको छ ।

निकै आकर्षक इन्टेरियर रहेको लुमिन ईभीमा थ्री स्पोक स्टेरिङ ह्वील, १०.२५ इन्चको फ्लोटिङ टचस्क्रीन, रिभर्स क्यामरा, मोबाइल फोन इन्टरकनेक्सन, भ्वाइस कन्ट्रोल जस्ता हाइटेक फिचर छन् ।


Back_to_top