महानगर यातायातले संचालनमा ल्यायो १२ वटा ईभी बस, यी रुटमा चल्ने

काठमाडौं । महानगर यातायात प्रालिले काठमाडौं उपत्यकामा १२ वटा विद्युतीय (ईभी) बस संचालनमा ल्याएको छ ।

बुधबार एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विद्युतीय बस सेवाको शुभारम्भ गरेका हुन् ।

आजदेखि संचालनमा ल्याइएका ती ईभी बसहरू चक्रपथ रुटमा संचालन हुने महानगर यातायातले जनाएको छ ।

महानगरले संचालनमा ल्याएका विद्युतीय बस चिनियाँ कम्पनी चेरी वन्डाले बनाएको हो । एक पटकमा ६८ जना यात्रुले यात्रा गर्न सक्ने बस आधुनिक सुविधाले भरिपूर्ण छ । यसमा ३३ जनाले सिटमा बसेर र ३५ जनाले उभिएर यात्रा गर्न सक्नेछन् ।

चेरी वन्डाले उत्पादन गरेको बसमा २४० किलोवाट पीक पावर प्रदान गर्ने मोटर दिइएको छ । सिंगल चार्जमा ३९२ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको चेरी वन्डामा १४४.९२ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसमा प्रयोग भएको ब्याट्री विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले बनाएको हो ।

महानगर यातायातले यी विद्युतीय बसहरू चार्ज गर्न कलंकीमा चार्जिङ स्टेशन निर्माण गरिरहेको जनाएको छ । बसमा ३८५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको कारण खराब बाटाहरूमा पनि सजिलै चलाउन सकिनेछ ।

हाल काठमाडौं उपत्यकामा साझा यातायातले ४० वटा इलेक्ट्रीक बस संचालन गरिरहेको छ ।


Back_to_top