काठमाडौं । दक्षिण कोरियाली कार निर्माता हुन्डाईले अमेरिकामा अनौठो सूचना जारी गरेको छ । कम्पनीले अमेरिकी बजारमा बिक्री गरेको १० युनिट ‘आयोनीक-फाइभ एस’मा आगलागी हुनसक्ने खतरा औल्याउँदै सूचना जारी गरेको हो ।
यात्रु सुरक्षामा निकै सम्वेदनशील कोरियाली निर्माताले अहिलेसम्म बिक्री भएका १० युनिट कारमा सर्ट सर्किटको जोखिम रहेको भन्दै भबनहरुको नजिक कार पार्किङ नगर्न भनेको छ । कम्पनीले १० जना ग्राहकको लागि यो सूचना जारी गरेको हो ।
यसलाई अमेरिकी बजारमा नयाँ चर्चाको विषय बनाइएको छ । आधा बाथटप भरिने बराबरको पेट्रोलियम पदार्थ बोकेर नहिडेपनि ईभीमा आगलागीको जोखिम रहन्छ ।
हुन्डाई अमेरिकाका अनुसार ब्याट्री प्याक बनाउने कोषहरुलाई जोड्ने ‘बसबार’ राम्रोसँग टाइट नभएको भन्दै सर्ट सर्किट हुन सक्ने बताइएको हो । विद्युतीय कारको मुटु ब्याट्री मानिन्छ भने रक्त नलिको रुपमा बसबारलाई लिने गरिन्छ ।
यस विषयलाई ब्याट्री सिस्टम एसेम्बलीको त्रुटी भएको हुन सक्ने औल्याउँदै हुन्डाईले १० यूनिट आयोनीक-फाइभकाे ब्याट्री प्याक निरीक्षण गराउन भनेको छ । साथै, कम्पनीले गरेको अडिट रिपोर्ट अनुसार केबल १० यूनिट आयोनीक-फाइभ एस मोडलमा मात्रै यस्तो समस्या देखिएको हाे ।
यसरी दिइएको बसबार रिटेनिङ बोल्टहरु खुकुलो हुन सक्नेतर्फ उपभोक्तालाई सचेत गराउँदै भोल्टेजमा समस्या आएर खतर हुन सक्नेतर्फ ध्यान दिन भनेको छ । कम्पनीले गाडी भने सडकमा चलाउन मिल्ने जनाएको छ । पार्किङ गर्ने स्थानको बारेमा भने सोच्न भनेको छ ।

