‘बी-१०’को पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल, मोटर पावर र रेन्ज उत्कृष्ट

काठमाडौं । चिनियाँ कम्पनी लीपमोटर बी-१० को पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको छ । लीपमोटरको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले बी-१० आज सार्वजनिक गरेको हो ।

चीनमा गत अप्रिलमा सार्वजनिक भएको बी-१० युरोपमा पनि बिक्री सुरु हुने मोडल हो । युरोपियन अटोमोबाइल जाइन्ट स्टेलान्टीस ग्रुपको लगानी रहेको लीपमोटरले आगामी महिना युरोपमा बिक्री सुरु गर्दैछ ।

‘बी-१० एसयूभी नेपालमा बिक्री सुरु गर्दैछौं । नाइमा मोबिलिटी एक्स्पोको कारण अन्य बजारमा भन्दा नेपालमा पहिला आयो । त्यसैले हामी अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा पहिला बी-१० बिक्री सुरु गर्दैछौं’, साँग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने ।

अहिले कम्पनीले गाडीको डिटेल सार्वजनिक गरेपनि मूल्य भने घोषणा गरेको छैन । आगामी साता आयोजना हुने नाइमा मोविलिटी एक्स्पोमा नै यसको मूल्य घोषणा हुने बताइएको छ ।

कम्पनीले बी-१० एसयूभीलाई ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्रीमा उपलब्ध गराएको छ । उक्त ब्याट्रीलाई ११ किलोवाट क्षमताको एसी चार्जर र १६८ किलोवाटसम्मको डिसी फास्ट चार्जरको प्रयोगबाट चार्ज गर्न सकिन्छ ।

नेपालको लागि निकै महत्वपूर्ण लाग्ने मोटर पावरमा पनि बी-१० अब्बल छ । यसमा १६० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । पीकटर्क भने २४० न्यूटन मिटर प्रदान गर्छ । साथै, रियर ह्वील ड्राइभ सिस्टम भएको कारण यसको पर्फमेन्स पनि उच्च रहने छ ।

साइजको आधारमा पनि बी-१० पर्फेक्ट लाग्छ । यसको लम्बाइ ४५१५ एमएम, चौडाइ १८८५ एमएम र उचाइ १६५५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलवेस छ ।

सहरी क्षेत्रमा नै ४६० किलोमिटर रेन्ज दिने दावी गरिएको बी-१० एसयूभीमा एडास लेभल टु फिचर पाउन सकिन्छ ।


Back_to_top