काठमाडौं । नेपालको सबैभन्दा माथिल्लो स्थानमा पुग्ने पहिलो स्कुटर होन्डा डिओ १२५ हुन सफल भएको छ । होन्डा डिओ १२५ ले उपल्लो डोल्पामा रहेको ज्याङ्ला पाससम्मको यात्रा गरेर किर्तिमान बनाएको हो ।
ज्याङ्ला पास ५ हजार ३०० मिटर उचाईमा अवस्थित छ । नेपाल एट्थ वन्डर टिम र स्याकर ट्रेडिङको सहकार्यमा होन्डा डिओ १२५ ज्याङ्ला पास पुगेको हो ।
शहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको प्रदर्शनीले नेपाली मोटर यात्राको सीमालाई नै पुनः परिभाषित गरिदिएको कम्पनीको भनाई छ ।
काठमाडौंदेखि डोल्पासम्मको यात्रा, जोमसोम, भेरोल, धो तराप हुँदै ज्याङला पाससम्म पुगेको हो । यात्रामा लगातार उकालो, ढुंगे बाटाहरू, खोला र बगर पार गर्दै, अक्सिजनको न्यूनता झेल्दै होण्डा डिओ १२५ ले कुनै ठूला यान्त्रिक समस्या विनै यो यात्रा सम्पन्न गरेको कम्पनीले बताएको छ ।
यो सफलताका लागि डिओमा भएको १२३.९२ सीसी बीएस ६ इन्जिन, ईन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), साइलेन्ट स्टार्ट विथ एसीजी, आईडेलिंग प्रणाली, कम्बाइन्ड ब्रेकिंग सिस्टम (सीबीएस) लगायतका अत्याधुनिक प्रविधिको परिणाम भएको कम्पनीको भनाइ छ । साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री-स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट, र ठूलो बुट स्पेस जस्ता फिचरहरूले लामो र चुनौतीपूर्ण यो यात्रालाई सहज बनाएको नेपाल एट्थ वन्डरले जनाएको छ ।


