काठमाडौं । बीवाइडीले एक साथ दुई नयाँ मोडल बिक्री सुरु गर्ने भएको छ । केही दिन अगाडि मात्रै सिलायन-सेभन बिक्री सुरु गरेको कम्पनीले सिगल ह्याचव्याक र एटो-टु एसयूभी बिक्री सुरु गर्न लागेको हो ।
बीवाइडीले ‘मास सेलिङ प्रोडक्ट’को रुपमा एटो-टु र सिगल नेपाल ल्याउने भएको छ । चीनबाट नेपालको लागि दुबै गाडी हिडिसकेको आधिकारीक बिक्रेता कम्पनी साइमेक्स इंकले जानकारी दियो ।

‘नयाँ एसयूभीको रुपमा एटो-टु चाँडै सार्वजनिक गर्छौ । अहिले गाडी बाटोमै छ, वर्षा लगायतको कारण कति समयमा आइपुग्छ, एकिन साथ भन्न कठिन छ । तर, भदौ दोस्रो सातासम्म बिक्री सुरु गर्ने योजना छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
बीवाइडी एटो-थ्रीकै सफलता पच्छाउने अनुमान गरिएको एटो-टु डल्फिन ह्याचव्याक र एटो-थ्री एड्भान्सको बीचमा रहने गरी बजारमा आउने अनुमान गरिएको छ ।
अन्य राइट ह्याण्ड ड्राइभ भएका देशमा पनि डल्फिन कै मूल्यमा एटो-टु बिक्री सुरु भएको कारण नेपालमा पनि आकर्षक मूल्यमा आउने र ग्राहक तान्ने अनुमान गर्न सकिन्छ ।

सिगल विश्वभर कम मूल्यको ह्याचव्याक कारको रुपमा चर्चा कमाएको मोडल हो । फ्यामली ह्याचव्याक कार सेग्मेन्टमा आउने सिगलले टाटा टियागो ईभी र केई इक्यूट ०४ सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
बीवाइडी एटो-टुको प्रतिस्पर्धा एमजी एस-फाइभ, केई एक्सथ्री-प्रो, नामी-०६ जस्ता मोडलसँग हुने अनुमान गर्न सकिन्छ । हेर्दा एटो-थ्रीकै जस्तो लुक र डिजाइनमा रहेको एटो-टु, साइजमा भने केही सानो छ ।


