नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्रीले गर्ने

काठमाडौं । आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई भेटी नाडा अटो शो २०२५ को प्रमुख अतिथिका रूपमा उद्घाटन गर्न औपचारिक अनुरोध गरेको थियो। नाडाको अनुरोध स्वीकार गरी प्रधानमन्त्रीले अटो शो उद्घाटन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीको उपस्थितिले अटोमोबाइल व्यवसायीहरूमा थप हौसला र प्रेरणा दिने नाडाको भनाइ छ।

अध्यक्ष चौधरीले यस वर्ष नाडा स्थापनाको ५०औं वार्षिकोत्सव भएको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको बताए ।

अध्यक्ष चौधरीले अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारीसाधनका ब्राण्ड, इलेक्ट्रीक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, भिन्टेज मोटर शो, र पहिलोपटक नेपालमा प्रदर्शित हुन लागेका अत्याधुनिक रोबोटसहित भविष्यमुखी प्रविधिहरू मुख्य आकर्षण रहने जानकारी दिए।

भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह(कोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेलको उपस्थिति रहेको थियो।


Back_to_top