सरकारको कमजोरीका कारण निजी क्षेत्रले ल्याएको इलेक्ट्रीक बस पनि ग्यारेजमै

काठमाडौं । सरकार आफैले विद्युतीय बस किन्ने कुरा गरिरहदा यातायात व्यवसायी भने विद्युतीय सवारी नीति नबन्दा समस्यामा परेका छन् । केही समय यता यातायात व्यवसायीहरुले धमाधम विद्युतीय बस किनि रहेका छन् । साझादेखि सुन्दर यातायातसम्मले विद्युतीय बस ल्याइरहेका छन् । 

साझा यातायात २० वटा बस ल्याउने प्रकृयामा रहेको छ भने सुन्दर यातायातले भरखरै मात्र २ वटा विद्युतीय बस ल्याएको छ । सो बस ल्याएर ग्यारेजमै थन्क्याएर राख्नुपरेको सुन्दर यातायात ट्रेडर्स प्रालीका भेस बहादुर थापाले बताए । ट्रेडर्सले ८ मिटर लम्बाइ भएको बिएके ब्राण्डको विद्युतीय बस खरिद गरेको हो । 

बससँगै ७ वटा चार्जिङ मेसिन समेत किनेर ग्यारेजमा राखिएको उनले बताए । कम्पनीले सुकेधारा र सितापाइलामा चार्जिङ मेसिन राख्ने योजना रहेको छ । तर, उक्त चार्जिङ स्टेसन निर्माणका लागि जग्गाको आवश्यक पर्ने जुन सरकारले उपलब्ध गराउने भने पनि हालसम्म त्यसका लागि नीतिगत तथा व्यवहारिक कुनै कुरामा पनि चासो दिएको छैन । 

‘जग्गा लिजमा भए पनि दिएर विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने भनेर काठमाडौं र ललितपुरका मेयरहरुले भन्नु भएको थियो तर, त्यो कागजमा मात्र सिमित छ,’ थापाले मेरोअटोसँग भने । 

उनले विद्युतीय कार तथा स्कुटरहरु घरमै चार्ज गर्न मिल्ने भए पनि ठूला बस घरमा चार्ज गर्न नमिल्ने हुनाले त्यसका लागि पार्किङसहितको चार्जिङ स्टेसन आवश्यक पर्ने हुन्छ । 

काठमाडौं ललितपुर महानगरपालिकाका मेयरले गंगबु बसपार्कमा भए पनि विद्युतीय चार्जिङ स्टेसनका लागि ठाउँ दिने प्रतिबद्धता जनाएका थिए । यातायात व्यवसायीहरुले बारम्बार विद्युतीय बसको भाडा दर निर्धारण गर्न माग गर्दै आएका छन् ।

‘हामीले सरकारसँग विद्युतीय सवारी साधन संचालनकाे लागि नीति नियम बनाउन भनेको हौँ, तर, पनि सरकार चुपोलागेर बसेको छ,’ थापाले मेरोअटोसँग भने । 

उनका अनुसार सरकारी तहमा गरिएका पहलहरु सबै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रोकिएको छ । यातायात मन्त्रालयले पहल नगर्दा विद्युतीय सवारीका नीति तथा आवश्यक व्यवस्था हुन नसकेको उनले बताए । 

‘भेट्न जादा हुन्छ हामी हेर्दैछौँ भन्नुहुन्छ, अरुबेला वास्तै गर्दैनन्,’ थापाले भने । उनले विद्युतीय सवारी चार्जजिङ्ग स्टेशन र त्यसको भाडा निर्धारण गरिदिन सरकारसँग आग्रह गरेको उनले बताए । 


Back_to_top