विश्वकै सबैभन्दा अग्लो पुलमा एकैपटक ९६ ट्रक राखेर भारवहन परीक्षण

काठमाडौं । चीनको बिपान नदीमाथि बनेको विश्वको सबैभन्दा अग्लो पुलको भारवहन परीक्षण गरिएको छ । चीनको गुइझोउ प्रान्तमा बनाइएको हुआजियाङ ग्रान्ड क्यान्यन पुलको उद्घाटन अघि अन्तिम तनाव (स्ट्रेस) परीक्षण गरिएको हो ।

चाइना डेलीका अनुसार पुलमा ५ दिन (अगस्ट २१-२५)सम्म कडा स्थिर लोड परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कुल ३ हजार ३६० मेट्रिकटन तौल भएका ९६ वटा भारी ट्रकहरू पुलमा राखिएको थियो ।

४०० भन्दा बढी सेन्सरहरूले पुलको मुख्य फैलावट टावर, केबल र सस्पेन्डरहरूमा हुने सानोभन्दा सानो हलचलको पनि निगरानी गरेका थिए । इन्जिनियरहरूले पुलको क्षमताले सुरक्षा मापदण्डहरू पूरा गरेको पुष्टि गरेका छन् ।

बिपान नदीमाथि ६२५ मिटर उचाइमा निर्माण गरिएको यो पुल विश्वको सबैभन्दा अग्लो र पहाडी क्षेत्रमा सबैभन्दा लामो दुरीमा फैलिएको पुल हो । यो पुललाई अभूतपूर्व इन्जिनियरिङ उपलब्धिको रूपमा लिइएको छ । यो पुलको कुल लम्बाइ २ हजार ९०० मिटर छ ।

यो पुल आगामी सेप्टेम्बरदेखि संचालनमा आउने बताइएको छ । यो पुलले स्थानीय पर्यटन र विकासलाई उल्लेखनीय रूपमा बढावा दिने बताइएको छ । यसले लिउझी र अनलोङ बीचको यात्रा समयलाई २ घण्टाबाट घटाएर २ मिनेटमा झार्नेछ ।


Back_to_top