बीपी राजमार्गमा भदौ मसान्तसम्मै राति गाडी चलाउन रोक

काठमाडौं । बीपी राजमार्गमा भदौ मसान्तसम्मका लागि रातिमा यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ ।

जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको आइतबार बसेको बैठकले भदौ मसान्तसम्म साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासनका अनुसार काठमाडौंबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सीमाना नेपालथोकमा रोकिने छ ।

कार्यालयले मनसुन सक्रिय रहेकाले सम्भावित विपद्जन्य घटना कम गर्न राति सवारी चलाउन लगाइएको रोकलाई निरन्तरता दिएको हो । बीपी राजमार्गमा गत असार ७ गतेदेखि रातिमा गाडी चलाउन रोक लगाइँदै आइएको छ ।

काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो ।

गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खे खोलासम्मको ११ किलोमिटर सडकखण्डमा क्षति भएको थियो ।

त्यसपछि सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वीनेपाल जोड्ने छोटो दूरीको उक्त राजमार्गबाट दैनिक सयौँ यातायातका साधन आउजाउ गर्छन् ।

बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति र्पुयाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।


Back_to_top