आगामी वर्षबाट उत्पादन हुने नयाँ कारमा ड्राइभर मनिटरिङ्ग सिस्टम प्रदान गर्ने तयारी भोल्भोले गरेको छ । क्याबिनमा लगाइएको क्यामरा र सेन्सरमा उपलब्ध मनिटरिङ्ग ड्राइभिङ्ग सिस्टमले ड्राइभरको ध्यान अन्यत्र जानबाट जोगाउने नयाँ प्रविधिको विकास कम्पनीले गरेको हो । यसका साथै यसले, मद्यपान गरेर गाडी चलाउने चालकलाई आकस्मिक दुर्घटनाबाट समेत बचाउने छ ।
यदि कुनै चालकले मदिरा सेवन गरे गाडी चलाई रहेको अवस्थामा दुर्घटना हुन खोजे कार पार्किङ्ग हुनेछ । कम्पनीले स्वीडेनमा आयोजत सेफ्टी मोमेन्ट कार्यक्रममा उक्त फिचर सार्बजनिक गरेको हो । कम्पनीले विश्वभर मदिरा सेवन गरेर गाडी चलाउने बढेसँगै सवारी दुर्घटना बढेको भन्दै त्यसलाई न्युनिकरण गर्ने उद्देश्यसहित उक्त प्रणालीको बिकास गरेको जनाएको हो ।
सन् २०२१ बाट भल्भोका कारमा १८० किलोमिटर प्रतिघन्टाको स्पीड लिमिटसँगै ड्राइभर मनिटरिङ्ग सिस्टम लगाउने कम्पनीले जनाएको हो ।
कसरी गर्छ काम ?
ड्राइभर नशामा रहेको अवस्थामा उक्त सिस्टमले कारलाई नियन्त्रण गर्ने गर्छ । सेन्सरको माध्यमबाट कारको स्टेयरिङ्ग र ब्रेकिङ्गको डेटा लिने र चालकको अवस्था हेरी सिस्टमनै कारलाई कन्ट्रोल गर्ने कम्पनीले जनाएको छ । साथै, कारले क्याबिनमा लगाइएको क्यामरामा उपलब्ध इनपुटको प्रयोगसमेत गर्नेछ ।
यसले ड्राइभरको हरेक क्रियाकलापको अध्ययन गर्दै उसलाई वार्निङ गर्नेछ । त्यसको बेवास्ता गर्दै चालकले गाडीको स्पीड बढाएमा सिस्टमले अलर्ट गर्नेछ । उक्त अवस्थामा ड्राइभरले ध्यान नदिए सिस्टमले सुरक्षीत ढंगबाट गाडीलाई पाकिङ्ग गरिदिने छ ।


