काठमाडौं । चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा सरकारले काठमाडौं-पोखरा-लुम्बिनी रेल्वे बनाउने परियोजना प्रस्तुत गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका क्रममा चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनीसम्म पुर्याउने प्रचार गरेका थिए ।
प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित भएपछि ओलीले केरुङबाट काठमाडौं आउने रेल पोखरा हुँदै लुम्बिनीसम्म पुर्याउने बताएका थिए । यस बीचमा चिनियाँ टोलीले केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेल्वको प्रारम्भिक सम्भाव्यता अध्ययनसमेत गरिसकेको छ ।
लगानी सम्मेलनमा सरकारले यातायात पूर्वाधार अन्तर्गत काठमाडौंदेखि पोखरा हुँदै लुम्बिनीसम्म रेल्वे बनाउन २ अर्ब ८३ करोड अमेरिकी डलर लागतसहित परियोजना सोकेस गर्न लागेको हो ।
लगानी सम्मेलनमा सरकारले विभिन्न परियोजनाहरु मध्ये काठमाडौंदेखि पोखरा हुँदै लुम्बिनीसम्म रेल पूर्वाधार विकास गर्न दाताहरुसँग लगानीको आह्वान गरेको छ । सम्मेलनमा भाग लिन विश्वका बिभिन्न देशबाट लगानीकर्ता आउँदै छन् ।


