थापाथलीमा जले करिब ३० नयाँ कार, कुन कम्पनीको कति ?

काठमाडौं । जेन-जी आन्दोलनको दोस्रो दिन अराजक समूहको निसानामा कारका शोरुमहरू पनि परेका थिए । काठमाडौंको अटो हब भनेर चिनिने थापाथलीमा मात्रै करिब ३० ब्राण्ड न्यू कार जलाइएको हो ।

थापाथलीमा रहेका एवोन, एक्सपेङ, स्मार्ट, हुन्डाई, महिन्द्रा र सुजुकीको शोरुममा रहेका कारहरु जलाइएको हो । केही आन्दोलनकारीले नयाँ गाडी शोरुमबाट चोरेर पनि लगेका थिए ।

आन्दोलनकारीले चोरेर लगेको टाटा ब्राण्डका दुई कार त्रिपुरेश्वरमा एउटा र धापासीमा अर्को भेटिएको थियो । आन्दोलनका कारण कार्यालय बन्द भएको कारण सहजै शोरुममा रहेका गाडी आन्दोलनकारीले लगेका थिए ।

कुन कम्पनीको कति जले कार ?

अहिलेसम्मको प्राप्त विवरण अनुसार सबैभन्दा धेरै कार सीजी मोटर्सको जलाइएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स आधिकारीक बिक्रेता रहेको एक्सपेङ, एवोन र स्मार्टका कार जलाइएको थियो । सबै मिलाउँदा सीजीका १६ नयाँ कार पूर्णरुपमा जलेको कम्पनीको भनाइ छ । एउटा एक्सपेङ कारको भने पछाडिको भाग जलेको देखियो ।

दोस्रो धेरै क्षती टाटा मोटर्सको शोरुममा भएको छ । सिप्रदी ट्रेडिङको निकै ठूलो शोरुम मानिन्छ । त्यहाँ रहेका ४ वटा विद्युतीय कार पूर्ण रूपमा जलेर नस्ट भएको कम्पनीको भनाइ छ । साथै, आन्दोलनकारीले लगेका दुई कार पनि टाटाकै थियो । तीनवटा कारमा निकै ठूलो क्षती पुगेको सिप्रदीले जनाएको छ ।

महिन्द्राको थापाथली शोरुममा पनि ५ वटासम्म कार परेको हुन सक्ने कम्पनी स्रोतले जनाएको छ । अहिलेसम्म ठ्याक्कै कति गाडी जल्यो एकिन छैन । तर, ५ वटासम्म परेको हुन सक्छ । आजै अफिस समयपछि एकिन गर्न सकिने अग्नी इनकर्पोरेट प्रालिले जनाएको छ ।

सीजी मोटोकर्पले बिक्री गर्ने सुजुकीको शोरुमा पनि जलाइएको छ । त्यहाँ पनि २ युनिट कार पूर्णरूपमा जलेर नस्ट भएका छन् । अन्य आधादर्जन कारमा क्षती पुगेको छ ।

यसका अलावा थापाथलीमा रहेको हुन्डाई शोरुममा आगलागी गराइएको छैन । तर, बाहिरको सिसा फुटाइएको छ । साथै, शोरुममा रहेको एउटा गाडीको भित्र आगलागी हुँदा सिट, सनरुफको सेड लगायतमा आगलागी भएको छ ।

अन्य केही शोरुममा राखिएका गाडी आन्दोलनका क्रममा फुटेका छन् । सिट्रोनको शोरुमा क्षती पुगेको छ । अन्य केही नयाँ कारमा क्षती पुगेको कम्पनीहरूको भनाइ छ ।


Back_to_top