एक्सपेङ र एवोनको बिक्री अब पानीपोखरीबाट हुने

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले बिक्री गर्दै आएको न्यू इनर्जी भेहिकल ब्राण्डहरू एक्सपेङ र एवोनको डेलिभरी पानीपोखारीबाट सुरू भएको छ ।

गत भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा सीजी मोटर्सको थापाथलीस्थित शोरुममा आगजनी भएपछि कम्पनीले पानीपोखरीबाट एक्सपेङ र एवोन कार डेलिभरी थालेको हो ।

आगजनीबाट सीजी मोटर्सको स्मार्ट, एक्सपेङ र एवोनका तीनवटै शोरुम र ४ तले कार्यालय पूरै जलेर खण्डहर भएको थियो ।

सीजी मोटर्सका सीईओ कपिल शिवाकोटीले थापाथलीको अफिस र शोरुप दुवै आगलागीबाट ध्वस्त भएपछि एक्सपेङ र एवोनको शोरुम पानीपोखरीमा सारिएको बताए ।

उनका अनुसार अब थापाथलीमा शोरुम पुनर्निर्माण नभएसम्म एक्सपेङ जी६, एवोन भी र वाइको डेलिभरी सीजी मोटर्सको पानीपोखरीमा रहेको रिडाराको शोरुमबाट हुनेछ ।

‘यसअघि गाडी बेच्दै आइएको थापाथलीको शोरुम आगजनीबाट नष्ट भएको छ । अब पुनर्निर्माण नभएसम्म एक्सपेङ र एवोनका गाडी पानीपोखरीस्थित रिडाराकै शोरुमबाट क्रिी गरिन्छ,’ उनले भने ।

उनले आगजनीबाट थापाथली शोरुममा रहेका करिब २० वटा गाडी जलेर नष्ट भएको बताए । बीमा कम्पनीले क्षतिको मूल्याङ्कन गरिरहेकोले कति रकम बराबरको क्षति भयो भन्ने अहिले भन्न नसकिने उनले बताए ।


Back_to_top