लीपमोटर बी-१० भोलिदेखि डेलिभरी हुने

काठमाडौं । गत नाइमा मोबिलिटी एक्स्पोमा लीपमोटरको बी १० बुकिङ गरेका ग्राहकले भोलि (मंगलबार)देखि गाडी डेलिभरी पाउने भएका छन् ।

नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले भोलिदेखि ग्राहकलाई बी १० एसयूभी हस्तान्तरण गर्ने भएको हो ।

कम्पनीका अनुसार तातोपानी र रसुवागडीको नाका बन्द भएपछि कोरला नाकाबाट गाडी ल्यार डेलिभरी गर्न लागिएको हो ।

सांग्रीला मोटर्सका डेपुटी जनरल मेनेजर किरण श्रेष्ठले कोरला नाका हुँदै ल्याइएका सबै गाडी पोखरा आइपुगेको जानकारी दिए ।

‘कोरला नाका हुँदै ल्याइएको सबै गाडी पोखरा शोरुममा आइसकेका छन्, त्यहाँ प्रि-डेलिभरी इन्स्पेक्सन (पीडीआइ)पछि मंगलबारदेखि काठमाडौंसहित विभिन्न शोरुमहरूबाट डेलिभरी सुरू हुन्छ,’ उनले मेरोअटोसँग भने ।

लीपमोटरको बी १० लाइफ र डिजाइन गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीले लाइफ भेरियन्टको मूल्य ५५ लाख र डिजाइनको ६० लाख रुपैयाँ तोकेको छ । तर, चाडपर्वको छुट अफर अन्तर्गत ग्राहकले लाइफ भेरियन्टमा ५० लाख र डिजाइन भेरियन्ट ५७ लाख रुपैयाँमै पाउने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकले प्रत्येक बी १० को खरिदमा ७ र २.२ किलोवाटको चार्जर, १ वर्ष सडक कर र एसेसरिज निःशुल्क पाउने छन् ।


Back_to_top