काठमाडौं । साझा यातायातले दशैंलाई लक्षित गर्दै काठमाडौं-चितवन विशेष बस सेवा संचालन गर्ने भएको छ ।
दशैंको अवसरमा घर फर्किने यात्रुहरूलाई लक्षित गरी शटल बस सुरु गरेको हो ।
साझाले एक सूचना जारी गर्दै असोज ७ गतेदेखि कोजाग्रत पूर्णिमासम्म काठमाडौं-नारायणगढ शटल बस सेवा सुरु गरिएकाे जानकारी दिएको हो।
यसले विशेषगरी नारायणगढ र त्यस आसपासका क्षेत्रमा जान चाहने यात्रुहरूका लागि निकै राहत पुग्ने साझाकाे अपेक्षा छ ।
साझाका बसहरू हरेक दिन बिहान ७ बजेदेखि प्रत्येक एक घण्टाको फरकमा कलंकी बसपार्कबाट छुट्ने छन् । साझाका अनुसार बिहान ७ बजे, ८ बजे, ९ बजे, १० बजे, ११ बजे र १२ बजेसम्म बसहरू काठमाडौंबाट प्रस्थान गर्नेछन् ।
साझाले नारायणगढसम्मको भाडा एकतर्फी ३०० रुपैयाँ तोकेको छ । यात्रुले अनिवार्य रूपमा साझा यातायातको टिकट लिनुपर्ने व्यवस्था गरिएको छ।
यात्रुले सिटमा मात्र बस्न पाउने, उभिएर वा मुडामा बसेर यात्रा गर्न नपाउने साझाले जनाएको छ । टिकट बिना यात्रा गर्ने यात्रुहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने संस्थाले स्पष्ट पारेको छ।
टिकटको विषयमा कुनै समस्या वा गुनासो भएमा सम्बन्धित निकायमा जानकारी गराउन सकिनेछ।



