काठमाडौं । नेपाली बजारमा ४० लाखभन्दा कम मूल्य हुँदा निकै ठूलो चर्चा र सफलता पाएका दुई मोडल टाटा पन्च र बीवाइडी डल्फिन हुन् । सुरूमा बीवाइडीले ३९ लाख ८० हजार मूल्य राखेर डल्फिन ह्याचब्याक बिक्री गरेको थियो ।
अहिले डल्फिन ह्याचब्याक कारको मूल्य बढेर ४१ लाख १५ हजार पुगेको छ । प्रिमियम ह्याचब्याक सेग्मेन्टमा उपलब्ध बीवाइडीको चर्चित कारलाई टाटाले पन्च ल्याएसँगै केही कठिनाइ भोग्नु परेको देखिन्छ ।
टाटा पन्च बडी स्टाइलको आधारमा मिनी एसयूभी हो । अझ भनौं नेक्सन ईभीको भाइ हो । फिचरको आधारमा भने नेक्सनकै वारपार छ । यस्तोमा बीवाइडी डल्फिनको मूल्य ४१ लाख १५ हजार पुग्दाको फाइदा पन्च ईभीले उठाएको हो । पन्च ईभीको टप भेरियन्टकै मूल्य ३९ लाख ९९ हजार रुपैयाँ छ । यानिकी १ लाख १६ हजार रुपैयाँ कम छ ।
सन् २०२३ बाट नेपालमा बिक्री सुरू भएको डल्फिनमा केही अपग्रेड पनि आएको छ । १२ भोल्टको ब्याट्री पनि लिथियम आयोन प्रयोग गरिएको डल्फिनको अपग्रेड भर्सनमा एनएफसी कार्ड पनि थपिएको छ ।

माइक्रो एसयूभी सेग्मेन्टमा उपलब्ध पन्च ईभीमा सनरुफदेखि फिजीकल र डिजिटल दुवै लाग्ने बटमहरू छन् । अग्लो ग्राउण्ड क्लियरेन्स र एसयूभी डिजाइन बडीकै कारण यसको लोकप्रियता बढेको हो ।
यदि, तपाईं पनि ४० लाख हाराहारी खर्च गरेर यी दुई मध्ये कुन गाडी किन्दा ठिक होला भन्ने सोच्दै हुनुहुन्छ भने तलको तुलनमा ध्यान दिएर पढ्नु होला ।
साइज
यी दुई गाडीमा लम्बाइमा निकै ठूलो ग्याप छ । बीवाइडी डल्फिनको लम्बाइ ४२९० एमएम, चौडाइ १७७० एमएम र उचाइ १५७० एमएम छ । जबकी २७०० एमएम लामो ह्वीलबेसले यसको क्याविन थप लग्जरी लाग्छ ।
माइक्रो एसयूभी सेग्मेन्टमा उपलब्ध पन्च ईभी ३८५७ एमएम लामो छ । यसकोे चौडाइ १७४२ एमएम र उचाइ १६३३ एमएम अग्लो छ । यसमा २४९५ एमएमको ह्वीलबेस छ । एसयूभी डिजाइन र छोटो ह्वीलबेसको कारण गाडीको तल्लो भाग छुने समस्या यसमा आउँदैन । लग्जरीको मामलामा डल्फिन अगाडि छ ।

खराब बाटो हाम्रो नियति हो । त्यसैले यहाँ सरकारी मानिसले नियम बनाउँदा पनि उच्च ग्राउण्ड क्लियरेन्स भन्न छाड्दैनन् । डल्फिनमा १७५ एमएम र पन्चमा १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । यसमा क्लियर विजेता पन्च ईभी हो ।
मोटर र ब्याट्री साइज
बीवाइडी डल्फिनमा ७० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । यो मोटरले १८० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ४४.९ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री छ । जसलाई एक पटको फुल चार्जमा ३४० किलोमिटर गुडाउन सकिन्छ ।
डल्फिनको ब्याट्रीले ६० किलोवाटको फास्ट चार्जर सपोर्ट गर्छ । आधिकारीक बिक्रेता साइमेक्स इंकले डल्फिनको ब्याट्रीप्याकमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिएको छ ।
त्यसैगरी, टाटा मोटर्सले पन्च ईभीको लङ रेन्ज भर्सन मात्रै अहिले नेपालमा बिक्री गर्दै आएको छ । यसमा ९० किलोवाटको इलेक्ट्रीक मोटर छ । उक्त मोटरले १९० न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

टाटा पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यो ब्याट्रीले एक पटकको फुल चार्जमा ३२० किलोमिटर रियल वर्ल्ड रेन्ज दिने कम्पनीको दावी छ । सिप्रदी ट्रेडिङले बिक्री गर्ने पन्च ईभीले ५० किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई ५० किलोवाटको चार्जरले ५६ मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
मोटर पावरको आधारमा टाटा पन्च निकै पावरफुल छ । ब्याट्री, रेन्ज र वारेन्टीमा डल्फिन क्लियर बिजेता देखिन्छ ।
क्याबिन फिचर
बीवाइडी डल्फिनको क्याबिनमा १२.८ इन्चको रोटेटिङ टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, ५ इन्चको डिजिटल इन्टुमेन्ट क्लस्टर, एप्पल कारप्ले एन्ड्रोइड अटो, ६ वटा स्पीकर सहितको प्रिमियम साउण्ड सिस्टम उपलब्ध छ । अटोमेटिक एसी, थ्री स्पोक मल्टीफङ्सनल स्टेरिङ ह्वील, इलेक्ट्रीक पावर असिस्ट स्टेरिङ ह्वील, भेहिकल टु लोड फिचर छन् ।

टाटाले पन्च ईभीमा १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेनट डिस्प्ले, १०.२५ इन्चकै डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, भेन्टीलेटेड फ्रन्ट सिट, भोइस असिस्ट इलेक्ट्रीक सनरुफ दिएको छ । साथै, रेन सेन्सीङ वाइपर, वायरलेस एन्ड्रोइड अटो, एप्पल कारप्ले, मल्टिपल भोइस असिस्ट, वायरलेस फोन चार्जर, अटोमेटिक एसी, टुस्पोक मल्टि फङ्सनल स्टेरिङ ह्वील पन्चको बलिया पक्ष हुन् ।
क्याबिन स्पेसको आधारमा डल्फिन अब्बल लाग्छ । टेक फिचर र मोर्डन युवामैत्री फिचरका हिसाबले पन्च ईभी अब्बल लाग्छ ।
सेफ्टी फिचर
टाटा पन्च ईभी भारत एनक्याप क्रयास टेस्टमा ५ स्टार सेफ्टी रेटीङ पाउन सफल मोडल हो । यसमा सुरक्षाको लागि ६ वटा एयरव्याग, ३६० डिग्री सराउण्ड भ्यू क्यामरा, व्लाइण्ड स्पट भ्यू मनिटर, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, इलेक्ट्रीक स्टेबिलीटी प्रोग्राम, चारै चक्कामा डिस्क ब्रेक, टायर प्रेसर मोनिर लगायतका फिचर छन् ।
बीवाइडी डल्फिनमा सुरक्षाको लागि ६ वटा एयरव्याग, हिल होल्ड असिस्ट, ३६० डीग्री क्यामरा, लेनकिप असिस्ट, अडाप्टीभ क्रुज कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक जस्ता फिचरले भरिएको एडास पाउन सकिन्छ ।
डल्फिनले युरो एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । यसमा पनि इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, चारै चक्कामा डिस ब्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता अति आवश्यक फिचर छन् ।

