काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड गत शुक्रबारदेखि पटक पटक अवरुद्ध भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा निरन्तर पहिरो खस्दा यात्रुले हैरानी खेपिरहेका छन् ।
मंगलबार अपराह्न ४:५५ बजे पहाडै खसेपछि यो सडक अहिले अनिश्चितकालका लागि बन्द भएको छ । अहिले पनि निरन्तर ढुंगा खसिरहेको छ । अहिले पहिरो पन्छाउने काम सुरु भए पनि दिनभर लाग्न सक्ने सडक डिभिजन भरतपुरले जनाएको छ ।
दशैंकै बेला मुख्य राजमार्ग बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् । प्रहरीले समेत सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
मुग्लिन नारायणगढ सडकको विकल्पमा आधादर्जन सडक प्रयोग गर्न सकिन्छ । मुग्लिन-नारायणगढ सडकको विकल्पमा चितवनबाट कालीगण्डकी करिडोरको बाटो तनहुँको खैरेनीटारबाट डेढगाउँ हुँदै गैँडाकोट निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । मुग्लिनदेखि खैरनीटारसम्म ७० किमी दूरी छ । खैरेनीटार-भीमाद कालोपत्र सडक ७ किलोमिटर र भीमाद-मानपुर कच्चीसडक ३५ किलोमिटर छ । मानपुर-डेढगाउँ कालोपत्रे (४० किमी), डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ ।
मोटरसाइकल चालकले दमौलीबाट केशवटार सुखौरा हुस्लाङ धरमपानी हुँदै घुमाउने झोलुङ्गे पुल तरेर मुग्लिन-नारायणगढ सडकखण्ड निस्किएर यात्रा गर्न सक्ने छन् ।
त्यस्तै, चितवनबाट काठमाडौं आउजाउ गर्नका लागि (साना गाडी मात्रै) चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ ।
त्यसैगरी, धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथको बाटोलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने चितवन जिल्ला प्रशासनले जनाएको छ ।
त्यस्तै, मकवापनुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाडौं आउन सकिने छ ।
यसैगरी हेटौंडा काठमाडौं आउजाउ (ठूला सवारीसाधन मात्र) गर्नका लागि कान्तिलोकपथ प्रयोग गर्न सकिने छ ।
यसैगरी चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै सवारीसाधन बुटवल हुँदै पोखरा जान सकिने प्रशासनले जनाएको छ ।


