२० आयोजना ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना’मा सूचीकृत, ६ केबलकार

काठमाडौं । सरकारले २० आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ ।

सरकारले केबलकार, औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह र पेट्रोलियम पाइपलाइन आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको हो ।

भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले २० वटा सरकारी तथा निजी लगानीका आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गर्ने निर्णय गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारत सिलिगुडीदेखि झापा चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रिन फिल्ड टर्मिनल र अमलेखगञ्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तार तथा ग्रिन फिल्ड टर्मिनल निर्माणलाई राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा राखिएको छ ।

त्यस्तै, निजी क्षेत्रद्धारा संचालन हुने ६ वटा केबलकारलाई सूचीमा राखिएको छ । सिक्लेस अन्नपूर्ण केबुलकार कास्की, ड्रिम्स हिल्स प्रालि देवघाट चितवन, सुपादेउराली केबुलकार अर्घाखाँची, सूर्यकुण्ड गोसाइकुण्ड केबुलकार सिन्धुपाल्चोक, सत्यवती दर्शन प्रालि पाल्पा र सानो पाथीभरा केबुलकार इलामलाई सूचीमा राखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बराह क्षेत्र औद्योगिक ग्राम सुनसरी, जोरायल औद्योगिक ग्राम डोटी, दमक औद्योगिक क्षेत्र, मयूरधाप औद्योगिक क्षेत्र मकवानपुर, शक्तिखोर औद्योगिक क्षेत्र चितवन, लक्ष्मीपुर औद्योगिक क्षेत्र दाङ, मोतीपुर औद्योगिक क्षेत्र रुपन्देही, नौबस्ता औद्योगिक क्षेत्र बाँके र दैजी औद्योगिक क्षेत्र कञ्चनपुर सूचीमा समावेश भएका छन् ।

त्यसैगरी, पाँचखाल विशेष आर्थिक क्षेत्र काभ्रे, हरैया विशेष आर्थिक क्षेत्र कैलाली र दोधारा चाँदनी सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी कञ्चरपुरलाई पनि सूचीमा राखिएको छ ।


Back_to_top