कारको डोर ह्याण्डलमा कठोर बन्दै चीन, ईभीमा ६ शर्त अनिर्वाय

काठमाडौं । मोर्डन कारको नाममा चलिरहेको ‘फ्लस टाइप’ डोर ह्याण्डल प्रतिबन्ध लाग्ने भएको छ । चीन सरकारले सुरक्षालाई ध्यानमा राखेर यस्तो किसिमका डोर ह्याण्डलको प्रयोग रोक्ने भएको हो ।

चीनको सूचना प्रविधि मन्त्रालयले आधुनिक टेक्नोलोजी भएका कारमा प्रयोग हुने डोर ह्याण्डल सम्बन्धी राष्ट्रिय मापदण्ड बनाएको हो । अहिले ड्राफ्टको रूपमा आएको नयाँ नियम अनुसार सुरक्षाको कारण कारमा प्रयोग हुने डोर ह्याण्डलको निर्देशिका बनाइएको हो ।

केही समयदेखि चीनमा पपअप वा फ्लस टाइप डोर ह्याण्डको सुरक्षालाई लिएर थुप्रै समाचारहरू बाहिर आएका थिए । त्यसपछि सरकारले पनि चासो देखाएर यसमा काम गरेको हो ।

अहिले बाहिर आएको डोर ह्याण्डल सम्बन्धी मापदण्ड सार्वजनिक सुनुवाइको लागि राखिएको छ । त्यस विषयमा हिजो (२४ सेप्टेम्बर)देखि सर्वसाधारण र सरोकारवालाहरूले आफ्नो कुरा राख्न पाउँनेछन् ।

के के छन् ड्राफ्टमा ?

  • प्रत्येक ढोका (ढिक्कीको बाहेक) सबैमा मेकानिकल रिलिज गर्न सकिने बाह्य डोर ह्याण्डल हुनुपर्छ ।
  • ब्याट्री सम्बन्धी समस्या आएर भएको दुर्घटनामा सबै ढोकाहरू बाह्य ह्याण्डल मार्फत खोल्न सकिने हुनुपर्छ ।
  • बाह्या डोर ह्याण्डल जहाँ भए पनि कम्तीमा ६० एमएम, २० एमएम र २५ एमएमको हातले संचालन गर्न सकिने साइजको हुनुपर्छ ।
  • प्रत्येक ढोकामा बाहिरी उपकरणको सहायता बिनै ढोका खोल्न सकिने आन्तरिक डोर ह्याण्डल हुनुपर्छ ।
  • यदि कार भित्र इलेक्ट्रीक ह्याण्डल जडान गरिएको छ भने मेकानिकल व्याकअप अनिर्वाय हुनुपर्छ ।
  • आन्तरिक ह्याण्डलहरू सजिलै चिन्न सकिने, स्पष्ट रूपमा देखिने, ढोकाको छेउबाट ३०० एमएम भित्र र बस्ने सिटसँगै हुनुपर्छ ।

चिनियाँ अधिकारीहरूका अनुसार यो ड्राफ्ट तयार गर्दा २० कम्पनीका ६३ वटा कारका मोडलहरूमा अध्ययन गरिएको थियो । यो बनाउने क्रममा फ्लस डोर ह्याण्डलका समस्यालाई मध्यनजर गर्दै नयाँ टेक्नोलोजीको विकास र सुरक्षा मापदण्डलाई समेत ध्यान दिएको सरकारी दाबी छ ।


Back_to_top