काठमाडौं । बाढी पहिरोका कारण देशभरका ४ मुख्य राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् ।
नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ८ बजेसम्म देशभरका ४ सडक खण्ड पूर्ण रूपमा बन्द रहेका हुन् ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
त्यस्तै, रसुवाको रसुवागढी नेपाल चीन जोड्ने पुल बगाउँदा गल्छि-त्रिशूली-रसुवागढी सडक बन्द भएको छ । गल्छिदेखि स्याफ्रुबेँसीसम्म भने एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, चितवनको इच्छाकामना गाउँपालिका ५, तुइनखोलमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक असोज ७ गतेदेखि पूर्ण रुपमा बन्द भएको छ ।
त्यस्तै, रुकुम पूर्वको भुमे गाउँपालिका काँडाबगरमा पहिरोले मध्यपहाडी राजमार्ग भदौ ३० गतेदेखि बन्द छ ।
बाढीपहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर (बागलुङ), पूर्व-पश्चिम राजमार्गको नवलपरासी पूर्वको विश्वकर्मा मन्दिर र पैसठ्ठी मोड भने एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएको छ ।



