काठमाडौं । भदौ ९ गते बिहान उठेर हिसाब गर्दा यस वर्षको दशैं र तिहारको अवसर पारेर करिब ५ हजार युनिट कार बिक्री हुने अनुमान गरिएको थियो । सन् २०२४ देखिनै क्रमिक सुधार देखिएको कार बजारमा ४० प्रतिशतसम्मको ग्रोथ देखिएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा झण्डै १७ हजार युनिट कार आयात भयो । त्यसमा झण्डै ७० प्रतिशत ईभी र बाँकी पेट्रोल कार आयात भएका थिए । चालु वर्षको बजेटले विद्युतीय कारमा लाग्दै आएको कर यथावत राखेसँगै गाडी बिक्रेता र खरिदकर्ता दुवैमा उत्साह देखिएको थियो ।
गाडीको कर मात्रै नभएर अन्य क्षेत्रले पनि गाडीको बिक्री बढ्ने संकेत गरेकै थियो । सेयर बजारमा राम्रै कारोबार हुँदै थियो । बैंकमा लगानी योग्य रकम टन्नै थुप्रेको थियो । बैंकहरूले बेस रेटमै अटो कर्जा अफर गरेका थिए । रेमिट्यान्स आयात उच्च बिन्दुमा थियो । यी सबै कारणले नयाँ गाडीको बिक्री उच्च हुने संकेतहरू देखिएका थिए ।
आर्थिक गतिविधि राम्रैसँग चहल पहलहुँदा अटो बजारमा सकारात्मक प्रभाव देखिएको थियो । बजेट अगाडि ल्याइएका ५ हजार बढी कारहरू बिक्री हुँदै थिए । दशैं र तिहार लगायतका चाडपर्व केन्द्रित आयात बढाउन आयातकर्ताहरुले गाडी मगाएका थिए । चीनसँग जोड्ने नाका प्राकृतिक वित्तिको कारण बन्द हुँदा हजारौंको संख्यामा गाडी रोकिएका थिए । बाटो खुल्ने वित्तिकै गाडी बिक्री थाल्न कम्पनीहरु आन्तरिक तयारी गर्दै थिए ।

सरकार विरोधी जेन-जी आन्दोलनले दुई दिनमै सबै उथलपुथल बनायो । चौतर्फी सन्नाटा छाएको अवस्था देखियो । यसले अटो बजार सुनसान बन्यो भन्दा फरक पर्दैन । दशैंमा बिक्री हुने सोचिएको ५ हजार बढी कार अब आधा पनि बिक्री हुने अवस्था छैन । गाडी किन्नेहरूमै निजी सम्पत्ति माथि भएको आक्रमणको कारण आत्मविश्वास आउन सकेको छैन । तत्कालै आउने पनि देखिँदैन ।

अटोमोबाइल क्षेत्रको हब मानिने थापाथली क्षेत्रमा धेरै शोरुमहरू जलेका छन् । व्यवसायीहरूको मनोबल गिरेकै छ । गाडी किन्ने क्षमता बनाएकाहरू पनि तत्काल खर्च गर्ने मुडमा देखिँदैनन् । त्यसैले यस वर्ष सोचेभन्दा ४० प्रतिशत कम कार बिक्री हुने अनुमान गर्न सकिन्छ ।
नयाँ मोडलले केही रौनक थप्दै
नाइमा र नाडा अटो शोको अवशर पारेर झण्डै एक दर्जन बढी कारहरू लन्च भएका थिए । ती मध्ये केही मोडलले बजारमा रौनक थप्ने काम गरेका छन् । जसमा जेको जे फाइभ, बीवाइडी एटो टु, लीपमोटर बी-१०, दीपल एस-०५ मुख्य छन् ।
साना कार खोज्नेको बीचमा बीवाइडी एटो वान र नामी-०१ ह्याचब्याक पनि उत्तिकै चलेका छन् । नामी-०१ भने पुरानै मोडल हो । खासगरी नयाँ मोडलले दशैंको अन्तिम तिर बजारमा हल्का चहलपहल गराएका छन् ।

