काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो गएपछि फेरी सडक अवरूद्ध भएको छ ।
आइतबार बिहान ११ः३० बजे पहिरो जाँदा सडक अवरूद्ध भएको बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय रामनगरले जनाएको छ ।
तुइन खोलामा पटकपटक पहिरो गएपछि अवरुद्ध भएको सडक गत शुक्रबार रातिबाट सन्चालनमा आएको थियो ।
‘केहीबेर अघि ठूलो पहिरो सडकमा थुप्रिएको छ, सडकमा थुप्रिएको माटो हटाउन कम्तिमा ४ घण्टा लाग्छ,’ कार्यालय रामनगरका एसपी डिल्ली नारायण पाण्डेले भने ।
पृथ्वी राजमार्गको नारायणगढ-मुग्लिन सडक खण्ड भदौ महिनामा मात्रै १५ पटक पहिरो गएर अवरुद्ध भएको छ । पछिल्लोपटक गएको मंगलबार सबैभन्दा ठुलो पहिरो गएपछि ७ वटा उपकरण प्रयोग गरेर शुक्रबार राति हटाइएको थियो ।

