काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी सोमबार (असोज २० गते)सम्म अत्यन्त जरुरी नभए सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अपिल गरेको छ।
प्राधिकरणले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न सबैलाई उच्च सतर्कताका लागि आग्रह गरेको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २० जिल्लामा भारी वर्षाको सम्भावना छ । वर्षाबाट हुनसक्ने सम्भावित क्षतिबाट बच्न प्राधिकरणले सकेसम्म जोखिम मोलेर यात्रा नगर्न भनेको हो ।
त्यस्तै, प्राधिकरणले वर्षा र बाटोको अवस्था हेरी सवारी संचालनमा रोक लगाउने बारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउने व्यवस्था गर्न सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई समेत आग्रह गरिएको छ।
त्यस्तै, जोखिमयुक्त राजमार्ग तथा सढकहरुमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरु तयारी अवस्थामा राख्न भनेको छ ।
त्यस्तै, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन अपिल गरिएको छ। डुबान हुने वस्तीका बासिन्दाहरूले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने, आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने तयारी गर्न समेत आग्रह गरेको छ।
प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सार्वजनिक अपिल गरेको छ।


