महानगर भित्र व्यवसाय गर्नेले आफ्नै पार्किङ बनाउनु पर्ने, नत्र कारवाही

काठमाडौं । सरकारले सडक क्षेत्र नजिकै रहेका पसल तथा कार्यालयहरुमा आउने सेवाग्राहीका लागि आफै पार्किङ स्थान बनाउनुपर्ने व्यवस्था लागु गर्ने भएको छ । महल तथा बिभिन्न व्यवसायीक प्रयोजनको लागि खोलिएका कार्यालयले पार्किङ स्थलको व्यवस्था नगरेकाले यसलाई अनिर्वाय गर्न लागिएको हो ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका कार्यालय प्रमुख बसन्त पन्तले सडक छेउ तथा हरेक स्थानमा रहेका कार्यालय तथा पसलहरुमा सेवाग्राहीका लागि पार्किङ स्थल अनिवार्य रुपमा निर्माण गर्नुपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

उनले महानगरसँग समन्वयन गरेर ट्राफिक व्यवस्थापन मिलाउने तयारी भइरहेको जानकारी दिए ।‘व्यापार गर्ने अनी सडकमा गाडी राखेर किन्न म कहाँ आउ भन्न पाइएन,’ पन्तले मेरोअटोसँग भने ।

उनले सडकमा सवारीसाधन पार्किङ गरेर सडक ओगट्न नपाईने भन्दै चाँडै नै त्यसता क्रियाकलाप रोक्ने तयारी भइरहेको बताए ।

हरेक व्यवसायीले आफ्ना सेवा ग्राहीको लागि आफ्नै कार्यालय भित्र गाडी पार्किङको व्यवस्था मिलाउनु पर्ने उनले जानकारी दिए ।

‘तपाईको सवारी साधन कुन कार्यालयमा जान्छ त्यही कार्यालयले पार्किङ स्थान अनिवार्य तोक्नुपर्छ र आफु कहाँ आउने सेवाग्राहीलाई स्वयम आफैले पार्किङको सेवा दिनुपर्ने हुन्छ,’ पन्तले भने ।

उनले कार्यालयमै पार्किङ स्थान निर्माणको व्यवस्था सुरुमा सरकारी निकायहरुमा लागु गरिने र त्यसपछि हरेक निकायमा पार्किङ व्यवस्थापन गरिदै लाने बताए ।

उनले महाशाखाले महानगरसँग मिलेर सडक तथा फुटपाथका टहरा तथा पसलहरु हटाइने बताए । ‘सरकारीदेखि निजी सबैले अनिवार्य रुपमा पार्किङ स्थान बनाउने गरि हामी अघि बढ्ने छौँ,’ पन्तले भने ।

उनले हरेक कार्यालयले आउने सेवाग्राहीलाई पार्किङको व्यवस्था मिलाउन सक्नु पर्ने र नसकेको खण्डमा लिजमा लिएर भए पनि पार्किङ व्यवस्था मिलाउनु पर्ने बताए ।

‘आफ्नो जग्गा नभए व्यवसायीले अरुको जग्गा लिएर पनि पार्किङ स्थान बनाउन सक्नु पर्यो,’ पन्तले भने । 


Back_to_top