काठमाडौं । वार्षिक कारोबार ११० दशमलव ७ अर्ब डलर । १२० दशमलव ६ अर्ब डलरको कुल सम्पत्ति । ७ लाख २ हजार ४ सय जना कामदार । र, १ सय ५१ वर्ष लामो इतिहास । घर जग्गा र बित्तीय सेवादेखि गाडी, औषधी र स्टिललगायतको उत्पादन ।
आम मानिसका लागि केवल अंक र उपभोग्य सेवा वा बस्तु । तर, भारतको सबैभन्दा ठूलो बहुर्राष्ट्रिय ब्यापारिक समूह टाटाको लागि भने इतिहास र निरन्तर विकास प्रकृयाको जिवन्त दस्तावेज ।
सन् १८६८ मा २९ वर्षको उमेरमा २१ हजार रुपैयाँको पूँजीबाट जम्सेत जी टाटाले शुरु गरेको ब्यापारिक कम्पनी आज टाटा ग्रुपको नामले परिचित छ ।
साक्षी किनारामा बस्नेका लागि विकास प्रकृयाबारे खासै चासो हुँदैन । मुन्टो उठाएर गगनचुम्बी महलको उत्कृष्ट इन्जिनियरिङको परख गर्दै गर्दा सो महलका एकएक इट्टा कुन भट्टीमा पोलिए वा जग कसले हाल्यो भन्ने चासोको विषय हुने कुरा पनि भएन ।
जब टाटा ह्यारीयर नेपाली बाटाहरुमा गुड्ने छन् तब यसले ब्यवसायीलाई नाफाखोर मात्र देख्ने सामन्ती साज्यसत्ता र आफ्नो शक्ति र हैसियतको मेसै नपाउने उद्योगिहरु दुवैलाई प्रेरणा देओस ।
भारतको आर्थिक राजधानी मुम्बईमा रहेको टाटा ग्रुपको हेडक्वाटर र अरु कैयौं देशमा रहेका टाटाको कर्पोरेट कार्यालयहरु नियाल्दै गर्दा धेरैलाई थाहा नहुन सक्छ कि १५१ वर्ष अघि जम्सेतजी टाटाले यी सबै कार्यालयहरुको जग हालेका थिए ।

भारतीय औद्योगिक क्षेत्रको पिता मानिने जम्सेतजी टाटा सन् १८३९ मा त्यतिखेरको बरोडा राज्यको फारसी परिवारमा जन्मिएका थिए । उनमा पिता नुसिरवानजी उनीहरुको पण्डित परिवारको पहिलो ब्यापारी थिए । उनी मुम्बईमा निर्यात ब्यापार फर्म खोलेर आयात–निर्यातको काम गर्थे ।
सन् १८५८ मा कलेज अध्ययन पश्चात् बाबुकै बाटो समातेका जम्सेतजी टाटाले बाबुको ब्यापारिक संजाल फिँजाउनका लागि त्यतिबेला नै बेलायत, अमेरिका, यूरोप, चीन र जापानको भ्रमण गरेका थिए । तर, सन् १८६८ मा २९ वर्षको उमेरमा २१ हजार रुपैयाँको पूँजीबाट उनले शुरु गरेको ब्यापारिक कम्पनी आज टाटा गु्रपको नामले संसारभर परिचित छ ।
उनले पहिला त्यो पूँजीबाट एक बिग्रेको तेल मिल किने र सन् १८६९ मा कपडा मिलमा परिवर्तन गरे । र, दुई वर्षपछि फाइदामा बेचे । केही हजार रुपैयाँ फाइदाबाट शुरु भएको ब्यापार आज हजारौं करोड रुपैयाँ फाइदा कमाउने भइसकेको छ ।
आजको यो सफलता तिनै जम्सेतजीले देखेको सपनाले हालेको जग हो । उनको सपना थियो, फलाम र स्टिलको कम्पनी, विश्वस्तरीय शैक्षिक संस्था, फरक र विलासी होटल र जलबिद्युत प्लान्ट । तर, उनको जीवनकालमा एउटा मात्र सपना पूरा भयो । त्यो पूरा भएको सपना थियो सन् १९०३ मा १ करोड दश लाख रुपैयाँ लागतमा खोलिएको ताज महल होटल । जम्सेतजीको होटल खोल्ने चाहना पलाउनुका पछाडि रोचक कथा छ । कुनै समय उनलाई बेलायतको ब्यवसायीक भ्रमण गर्दा गोरो छाला नभएका कारण राम्रो होलटमा बस्न दिइएको थिएन रे । त्यसैको इख स्वरुप उनमा विश्व स्तरीय विलासी होटल खोल्ने सपना देखे । र, पुरा गरेरै छाडे ।
यि विश्व बिख्यात ब्राण्डहरु किन्नका लागि रतनलाई फोर्डका अधिकारीहरु प्रतिको इखले अभिप्रेरित गरेको बताइन्छ ।
अहिले भने टाटा स्टिल, टाटा पावर र टाटा इन्स्टिचुटका रुपमा उनका सपना साकार भएका छन् । वार्षिक रुपमा टाटा स्टिल ५९ करोड अमेरिकी डलर र टाटा पावर १९ करोड अमेरिकी डलर नाफा कमाउने कम्पनी भइसकेका छन् । मुम्बई स्थित ‘टाटा इन्स्टिच्युट अफ सोसल साइन्स’लाई भारतकै सोसल साइन्स, मानव विकास, सार्वजनिक नीति र अर्थशास्त्र विषयमा प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा हेरिन्छ ।
एक ब्यक्तिको सपना र मेहेनत । अनी अरु कैंयौं सुयोग्य उत्तराधिकारीहरुको निरन्तरताको उपज हो टाटा ग्रुप । वास्तवमा ठूलो कुरा भनेको संसारमा केही हुँदैन । साना साना कुराको योग हो ठूलो कुरा । साना साना सपनाबाट उम्रिने हुन ठूल्ठूला योजना र आविस्कारहरु ।
‘सपना सुतेका बेला देख्ने चिज होइन, सपना त त्यो हो जसले सुत्न दिँदैन’ भन्ने भनाई नेपालमा निकै चलेको छ । तर, शब्दमा मात्र । यस्ता कुरा गर्ने हामीले मेलम्चीको पाइप बिछ्याउन खनेको खाल्डो पुर्न सकेका छैनौं । बरु, यही भनाइलाई जिवन्त तुल्याउँदै टाटा ग्रुपका पछिल्ला उत्तराधिकारी रतन टाटाले विश्वकै सस्तो नानो कार बनाएर विश्वलाई नै चकित तुल्याइदिएका थिए ।
नानो कार आविस्कार हुनुको कारण पनि रोचक छ । सपरिवार एउटै मोटरसाइकलमा बसेर यात्रा गरिरहेको रतन टाटाले देखेपछि नानो कारको परिकल्पना उनको दिमागमा आएको हो । सस्तोमा सुरक्षित यात्रा गराउने सपना देखेका रतनले त्यसैको साकार रुप नानो कारलाई बनाए । अर्थात् नानो कार त्यसैको उपज हो । यस कारको भारतमा १ लाख (करीब १५ सय अमेरिकी डलर) रुपैयाँमा बिक्री शुरु गरिएको थियो । विभिन्न ब्यवसायीक कारणले गर्दा नानोले सफलताको शिखर भने चुम्न पाएन ।
टाटा मोर्टस अन्तर्गत नानो जस्तो सस्तो कारको इतिहास मात्र नभएर ज्यागुअर ल्याण्ड रोभर जस्ता विलासी र विश्व बिख्यात कारको वर्तमान पनि छन् ।
कुनै बेला प्यासेन्जर कार निमार्णबाट पछि हट्ने उद्देश्य साथ अमेरिकी गाडी उत्पादक कम्पनी फोर्डलाई आफ्नो प्लान्ट बेच्न खोज्दा फोर्डका अधिकारीहरुले ‘नजानेको मान्छेले किन यस क्षेत्रमा हात हालेको’ भनेर टाटा मोटर्सका अधिकारीलाई गिज्याएका थिए ।
तर, त्यसको केही वर्षपछि, अर्थात्, विश्वब्यापी आर्थिक मन्दीताका तिनै अधिकारीहरुसँग रतन टाटाले ज्यागुअर ल्याण्ड रोभर किनेका थिए । यि विश्व बिख्यात ब्राण्डहरु किन्नका लागि रतनलाई फोर्डका अधिकारीहरु प्रतिको इखले अभिप्रेरित गरेको बताइन्छ ।
कुनै पनि संस्था ठूलो र महान बन्नका लागि त्यस संस्था हाँक्ने नेतृत्वको सपना, दुरदर्शिता, मेहेनत र प्रतिबद्धताको खाँचो हुन्छ नै । त्यसको अलावा समाज र समाजका अरु विभिन्न संस्थाहरुले पनि उद्योगपति र संस्थालाई कसरी हेर्छन् र हुर्कन मद्दत गर्छन् भन्ने कुराले पनि ठूलो अर्थ राख्छ ।
‘यो सत्य हो कि हामीले उहाँको सम्झनालाई सम्मान गर्नुपर्छ र आधुनिक भारतको ठूलो संस्थापक मध्येका एकका रुपमा सम्झनुपर्छ,’ जम्सेतजी टाटाका बारे स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले बोलेका बाक्य हो यो ।
हामी भने असान्दर्भिक भैसकेको कालाबजारी ऐनकै कालो चस्माले उद्योगपतीहरुलाई हेरिरहेका छौं । अनि कसरी जन्मन्छ राष्ट्रले गौरव गर्ने कम्पनी र उद्योगपती । दशरथ रङ्गशालामा खेलेर कोही म्यारोडोना वा पेले त बन्दैन नि ।
इखैले त हो ताज होटल खुलेको अनी ज्यागुअर ल्याण्ड रोभर टाटाको स्वामित्वमा आएको ।
अब अलिकती कुरा नेपाली ब्यवसायीहरु कै बारे पनि गरिहालौं । ‘हामी कर तिर्न जाँदा कर्मचारीहरु रोजगारदाता आयो भन्ने ढंगले हेर्नुभन्दा पनि यसले कति नाफा कमायो भनेर इर्स्याको नजरले हेर्छन्’, एक ठूलै उद्योगपतिले सार्वजनिक रुपमै बोलेको कुरा हो यो । अनी यस्तो राज्यसत्ता बिरुद्ध खै त इख पालेको ? इखैले त हो ताज होटल खुलेको अनी ज्यागुअर ल्याण्ड रोभर टाटाको स्वामित्वमा आएको ।

नेपाली समाजले आधारभुत रुपमा पुँजीबादी चरित्र ग्रहण गरिसकेको समाज अध्यताहरु बताउँछन् । तर, उदेक लाग्दो कुरा के छ भने पुँजीबादी समाजमा समेत देशका ठूला ठूला उद्योगपतिहरु ठुटे नेताका ढोकामा आफ्नो भविष्य र भाग्य कैद भएको देख्छन् । र, तिनकै चाकरीमा तल्लीन हुन्छन् । कुनै नयाँ अर्थमन्त्री आयो की उसको ढोका ढुकेर ‘निजी क्षेत्र मैत्री बनिदिन’ नगिडगिडाएको अवसर हुँदैंन । कुनै पनि ब्यवसयीक संगठनको नेतृत्व गर्न चाहने उद्योगपतिहरुहरुलाई ‘तपाईं किन यो संगठनको नेतृत्व गर्न चाहनुहुन्छ ?’ भनेर सोध्यो भने ‘सबैलाई मिलाएर अगाडी बढ्न सक्छु’ भन्ने जस्तो हास्यास्पद उत्तर पाइन्छ । समाज, विकास चरणको कुन प्रक्रियामा छ ? यसमा मेरो र मेरो क्षेत्रको हैसियत के हुनु पर्छ भनेर नबुझ्ने मानिस वा डफ्फाले कुनै संगठनको नेतृत्व गर्न सक्छ ?
उद्योगी र ब्यवसायीहरुको शक्ति नेताको ढोकामा होइन जनताको घरमा छ । जब जनताले ब्यवसायीहरुलाई नाफाखोरको रुपमा नभएर सेवा प्रदायक, उत्पादक र रोजगारीदाताको रुपमा हेर्छन्, जब उनीहरु आफ्ना छोराछोरी पनि उद्योगी ब्यवसायी बनोस भन्ने चाहन्छन्, तब ब्यवसायीहरुको शक्ति त्यसै बढ्छ । यसका लागि ब्यवसायीक संगठनहरुले स्पस्ट योजना र कार्यनीति सहित काम गर्न सक्नुपर्छ । कमसेकम एक जना चरित्रवान उद्योगीको जिवनी स्कुले विद्यार्थीले आफ्नो कोर्समा पढेर प्रेरणा लिन सकुन् । यत्तिका लागि त पहल गर्नुस् । नेपालले अहिलेसम्म त्यस्तो उद्योगपति जन्माएकै छैन त ?
टाटा ह्यारीयर नेपाली बजारमा छिट्टै आउँदैंछ । यो टाटाले ल्याण्डरोभरको ‘प्लेटर्फममा’ बनाएको गाडी हो । आफ्नो देशलाई सैयौं वर्ष गु्लाम बनाएको देशको ब्राण्ड र आफ्नो कम्पनीलाई गिज्याउने कम्पनीको प्लेटर्फममा आफ्नै लोकल ब्राण्ड बनाउनु भारत र टाटा दुवैको लागि गर्वको विषय हो ।
जब टाटा ह्यारीयर नेपाली बाटाहरुमा गुड्ने छन् तब यसले ब्यवसायीलाई नाफाखोर मात्र देख्ने सामन्ती साज्यसत्ता र आफ्नो शक्ति र हैसियतको मेसै नपाउने उद्योगिहरु दुवैलाई प्रेरणा देओस । साथै, प्रेरणा लिन नचाहनेलाई कुरीकुरी पनि गरोस् ।


