इलेक्ट्रीक कारमा अहिलेको सबैभन्दा ठूलो समस्या भनेको व्याट्रीको रेन्ज नै हो । सबैजसो कम्पनीहरु एकपटक चार्ज गर्दा कति धेरै किलोमिटर कुदाउने व्याट्री विकास गर्न सकिन्छ भन्नेमा तल्लीन छन् ।
यस्तैमा स्वीजरल्यान्डको स्टार्टअप कम्पनी इनोलिथले एकपटकको चार्जमा १ हजार किलोमिटर कार कुदाउन सकिने व्याट्री विकास गरेको छ । उक्त कम्पनीका अनुसार उसले विश्वमै पहिलोपटक १ हजार डब्लूएच/केजी रिचार्जएवल व्याट्री बनाएको हो । (वाट–आवर्स पर किलोग्रामले व्याट्रीको क्षमता जनाउँछ)
टेस्लाको मोडल ३ मा प्रयोग भएको व्याट्री करिब २५० डब्लूएच/केजी रहेको छ भने इनोलिथले विकास गरेको व्याट्री ३३० डब्लूएच/केजी रहेको छ ।
अमेरिकी उर्जा डिपार्टमेन्टले ५०० डब्लूएच/केजी व्याट्री सेल विकास गर्न प्ररित गरिरहेको जनाइएको छ । इनोलिथले विकास गरेको प्रविधि यथार्थमा आए इलेक्ट्रीक कारको विकासमा ठूलै परिवर्तन आउनेछ ।
‘यो ठूलो उपलब्धी हो,’ इनोलिथका अध्यक्ष एलान ग्रिनसिल्डले भने, ‘अहिलेको लिथियम–आयोनको चार गुणा बढी क्षमता यसमा हुनेछ ।’ यसरी विकास भएको व्याट्रीले इलेक्ट्रक कार एक पटकको चार्जमा १ हजार किलोमिटर (६२१ माइल) चलाउन सकिने छ ।
हाल टेस्लामा रहेको व्याट्री पानासोनिकले उत्पादन गर्दै आएको छ, जसले ३३० माइल रेन्ज दिन्छ । यो टेस्लाको सबैभन्दा महंगो मोडलमा मात्र उपलब्ध रहेको छ । सबैजसो इलेक्ट्रीक उत्पादकहरु हाइ रेन्ज व्याट्रीको खोजीमा रहेका छन् ।


