उडिरहेको जडाज भित्र लिथियम ब्याट्रीमा आगलागी

काठमाडौं । एयर चाइनाको एक यात्रुवाहक जहाजको लगेजको ओभरहेड बिन भित्र राखिएको लिथियम ब्याट्रीमा आगलागी भएपछि आपतकालीन अवतरण गरिएको छ ।

शनिबार बिहान चीनको हाङ्जाउ शहरबाट दक्षिण कोरियाको इन्चनतर्फ गइरहेको एयर चाइनाको उडान नम्बर सीए-१३९ को जहाजमा एक यात्रुको ह्याण्ड लगेजमा राखिएको लिथियम ब्याट्रीमा अचानक आगलागी भएको हो ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार लगेजको ओभरहेड बिन भित्र राखिएको ब्याट्री आफैं बलेको थियो । चालकदलका सदस्यहरूले स्थिति नियन्त्रणमा लिन तुरुन्तै एक्सन लिएका थिए । उक्त दुर्घटनामा कुनै मानवीय क्षति नभएको एयरलाइन्सले जनाएको छ ।

आगो लागेको ब्याट्री कुनै उपकरण यन्त्र भित्र थियो वा छुट्टै स्पेयर ब्याट्री थियो भन्ने खुलेकको छैन ।

सामाजिक संजालमा भाइरल भएको भिडियोमा ओभरहेड बिनमा आगो लागिरहेको देखिन्छ, जसबाट धुवाँ विमान भित्र फैलिँदा यात्रुहरू त्रसित देखिन्छन्।

भिडियो फुटेजमा यात्रुले क्याबिनका कर्मचारीलाई मद्दतको संकेत गर्दा खुला रहेको सामान राख्ने डिब्बाबाट धुवाँ र आगोको मुस्लो निस्किरहेको देखिन्छ । त्यसपछि विमानका दुई कर्मचारी पछाडिबाट आगोतर्फ दौडिँदै आइरहेका देखिन्छन् ।

एयरलाइन्सले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा एक विज्ञप्ति जारी गर्दै भनेको छ,’उडान सीए-१३९ मा सामान राख्ने डिब्बामा राखिएको एक यात्रुको हातले बोक्ने झोलाभित्रको लिथियम ब्याट्रीमा अचानक आगलागी भयो । कर्मचारीहरूले तुरुन्तै प्रक्रिया अनुसार स्थिति नियन्त्रणमा लिए र कसैलाई पनि चोट लागेको छैन ।’

एयरलाइन्सका अनुसार उडान सुरक्षा निश्चित गर्न विमानलाई चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा निर्धारित तालिकाभन्दा बाहिर आपत्कालीन अवतरणका निम्ति मार्ग परिवर्तन गरिएको थियो ।

फेडरल एभिएसन एडमिनिस्ट्रेसनका अनुसार, लिथियम ब्याट्रीमा विभिन्न कारणले गर्दा थर्मल रनअवे अर्थात् स्वयं तातिने प्रक्रियाबिना कुनै चेतावनी हुनसक्छ । यसमा ब्याट्री बिग्रिनु, अत्यधिक तापक्रममा पुग्नु, पानीको सम्पर्कमा आउनु, धेरै चार्ज हुनु वा राम्ररी प्याक नगर्नुजस्ता कारक हुन्छन् ।

लिथियम ब्याट्रीहरू सामान्यतया स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, ई–रीडर, स्मार्टवाच, पोर्टेबल पावर बैंकजस्ता उपकरणमा प्रयोग गरिन्छ ।


Back_to_top