काठमाडौं । रोयल इनफिल्डले नयाँ उत्पादन हुने ३५० सीसीका मोटरसाइकलमा गियर पोजिसन इन्डिकेटर हटाउने भएको छ । कम्पनीले उत्पादन गर्दै आएको ‘जे सिरिज’का मोटरसाइकलमा गियर इन्डिकेटर हटाउने भएको हो ।
‘जे सिरिज’मा मेटीअर ३५०, क्लासिक ३५० र हन्टर ३५० मोडलका मोटरसाइकल छन् । अब उत्पादन हुने यी मोटरसाइकलहरुमा यसअघि देखाउँदै आएको गियर पोजिसन देखाउने छैन ।
गियर पोजिसन इन्डिकेटर उत्पादनमा लाग्ने कम्पोनेन्ट रियर अर्थ मेटेरियल सप्लाइमा समस्या भएपछि कम्पनीले गियर पोजिसन इन्डिकेटर नै ३५० सीसीका मोटरसाइकलबाट हटाउने निर्णय लिएको हो ।
गाडी उत्पादनमा प्रयोग हुने रियर अर्थ मेटेरियल अभावका कारण भारतमा धेरै ब्रान्डले आफ्ना उत्पादन नै कटौती गरिरहेका छन् । यसको असर धेरै इलेक्ट्रीक र हाइब्रिड सवारी साधन उत्पादन गर्नेहरुलाई परिरहेको छ ।
रोयल इनफिल्डले रियर अर्थ मेटेरियलको सप्लाई सहज नहुँदासम्मको लागि ३५० सीसी सेग्मेन्टमा गियर पोजिसन इन्डिकेटर हटाउन लागेको जनाएको छ । सप्लाई सहज भए पश्चात् कम्पनीले पुनः गियर पोजिसन इन्डिकेटर प्रयोग गर्ने कम्पनीले जनाएको छ ।
रोयल इनफिल्डले ३५० सीसीभन्दा माथिका मोटरसाइकलमा भने गियर पोजिसन इन्डिकेटर निरन्तर राख्ने जनाएको छ ।

