काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले मिडसाइज एसयूभी डस्टरको सेकेण्ड जेनेरेशन मोडल बजारमा ल्याउने भएको छ ।
कम्पनीले भारतमा उत्पादन बन्द भएको ४ वर्षपछि नयाँ जेनेरेशन डस्टर सार्वजनिक गर्न लागेको हो ।
रेनोले भारतको गणतन्त्र दिवसको अवसरमा पारेर आगामी जनवरी २०२६ मा डस्टरलाई भारतमा लन्च गर्ने भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भइसकेको नयाँ डस्टर भारतीय सडकमा समेत परीक्षण गरिरहेको स्पाई इमेजहरू सार्वजनिक भएका छन् ।
नयाँ डस्टरको फ्रन्टमा वाई सेपको एलईडी लाइट, बुलबार जस्तो देखिने आकर्षक नयाँ डिजाइनको ग्रिल रहेको छ । यसको रियरमा भी सेपको टेलल्याम्प, बाक्लो ह्वीलआर्क क्लाइडिङ, सार्कफिन एन्टेना, रुफरेल रहेको छ ।

रेनो डस्टरको क्याबिन चालकको सुविधालाई ध्यानमा राखेर डिजाइन भएको छ । यो एसयूभीमा हाई सेन्टर कन्सोल, इलेक्ट्रीक गियर सिफ्टर, १०.१ इन्चको ओपनआर इन्फोटेन्मेन्ट डिस्प्ले, वायरलेस स्मार्टफोन कनेक्टिभिटी र ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसमा डिउलजोन एसी, वायरलेस मोबाइल चार्जर, ३६० डिग्री क्यामरा, ६ वटा एयरब्याग, एडासका सेफ्टी फिचर रहने छ ।

रेनो निसानको सीएमएफ बी मोडुलर प्ल्याटफर्ममा तयार भएको डस्टर भारतको तामिलनाडूको चेन्नाइ प्लाण्टमा निर्माण हुनेछ । नयाँ डस्टरको लम्बाइ ४३४० एमएमको हुनेछ । अन्तर्राष्ट्रिय बजारमा रेनो डस्टरमा १.० लिटरको टर्बो पेट्रोल, १.२ लिटरको पेट्रोल हाइब्रिड र १.६ लिटरको स्ट्रङ हाइब्रिड पेट्रोल इन्जिन अप्सन रहेको छ ।
अन्तर्राष्ट्रिय बाजारमा १८ लाख युनिटभन्दा बढी बिक्री भएको रेनोको डस्टर भारतमा समेत २ लाख हाराहारीमा संचालनमा रहेको छ । नेपाली बजारमा समेत निकै रुचाइएको डस्टरले मिडसाइजको एसयूभी सेग्मेन्टकै विकास गरेको हो ।

