काठमाडौं । आरामदायी मोटरसाइकल किन बिक्दैन नेपालमा भन्ने प्रश्न गर्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, सबैभन्दा आरामदायी मानिने सेग्मेन्टका मोटरसाइकलको बिक्री खासै हुने गरेको छैन ।
नेपालमा मोटरसाइकल किन्ने भन्ने वित्तिकै कम्युटर नेकेड र एड्भेन्चर मध्ये कुनै एक सेग्मेन्टको नाम आइहाल्छ । तर, सबैभन्दा आरामदायी मानिने क्रुजर मोटरसाइकलको चर्चा नै हुँदैन ।
सामान्यतया हाइवेमा लामो यात्रा गर्दा शरिरलाई आरामदायी हुने खालको डिजाइनमा क्रुजर मोटरसाइकल बनेका हुन्छन् । क्रुजर डिजाइन मोटरसाइकलमा घन्टौ यात्रा गर्दा पनि थकानको महसुस हुँदैन ।
त्यसो भए क्रुजर मोटरसाइकलमा आरामदायी यात्रा गराउने के–के कुरा होला भन्ने जिज्ञासा धेरैको मनमा आउन सक्छ । क्रुजर मोटरसाइकल हुन चाहिने महत्वपुर्ण कुरा यसको सिट हाइट हो ।
क्रुजर मोटरसाइकलमा एकदमै लो–सिट हाइट हुन जरुरी छ । यस्ता मोटरसाइकलमा ७०० एमएम हाराहारीमा सिट हाइट हुन्छन् । त्यस्तै अर्को भनेको यसको ह्वील वेस हो । क्रुजर मोटरसाइकलमा लामो ह्वीलवेस हुन्छ । यसले मोटरसाइकलमा सन्तुलन बनाउन निकै सहज हुन्छ ।

त्यसैगरी यसको ‘सिटिङ पोजिशन अपराइट’ हुन्छ । साथै, मोटरसाइकलमा चालकको खुट्टाको ‘पोजिशन’ निकै अगाडि हुनेगर्छ । जसले गर्दा खुट्टा खुम्चाएर बस्नु पर्दैन र सहज यात्रा गर्न सकिन्छ ।
धेरै उपभोक्ताको रोजाइमा नपर्ने भएको कारण क्रुजुर मोटरसाइकलमा धेरै छनोट पनि उपलब्ध छैन । बजाज एभेन्जर सिरिज, रोयल इनफिल्ड मेटिअर र सुजुकी इन्ट्रुडर अहिले बजारमा उपलब्ध क्रुजर मोटरसाइकल हुन् ।
कुनै समय नेपालमा यामाहा, हार्ले, युएम लगायत ब्रान्डले पनि क्रुजर मोटरसाइकल बिक्री गरेका थिए । अहिले ती ब्राण्डका क्रुजर मोटरसाइकल उपलब्ध छैन । अझ धेरै ब्राण्ड त बन्द नै भए ।
बजाजले अहिले पनि ठिकठाक संख्यामा एभेन्जर सिरिजका मोटरसाइकल बिक्री गरिरहेको छ । सुजुकी इन्ट्रुडरको अयात शुन्य जस्तै छ । रोयल इनफिल्ड मेटिअरको बिक्री पनि राम्रो देखिदैन ।

मोटरसाइकल बिक्रेताहरुको बुझाइ भने फरक पाइन्छ । क्रुजर युवाहरुको रोजाइमा नपर्ने र उमेर बढ्दै गएका मानिसले चढ्न रुचाउने भएको कारण चर्चा नभएको उनिहरुको बुझाइ छ ।
क्रुजर सेग्मेन्ट बन्दै भएको अवस्था होइन भन्दै ट्रायम्फ नेपालका म्यानेजर सागर थापा भन्छन्, ‘युवाहरुले क्रुजर मोटरसाइकल किन्दैनन् । धेरै जसो पाको उमेर हुँदै जाँदा क्रुजर मोटरसाइकल खोज्ने कारण चर्चा नभएको हो । अहिले पनि बजारमा यसको राम्रै माग छ ।’
मोटरसाइकलमा जति धेरै प्रतिस्पर्धा हुन्छ, त्यतिनै चर्चा हुने हो । यो सेग्मेन्टमा बजाज र रोयल इनफिल्ड मात्रै भएको कारण पनि चर्चा कम भएको हुन सक्ने थापाको बुझाइ छ ।

रोयल इनफिल्ड टीमको बुझाइ अल्ली फरक छ । क्रुजर मोटरसाइकल लामो हाइवे यात्राको लागि उत्तम हो । नेपालमा खासै हाइवे कल्चर नै नभएको उनिहरुको बुझाइ छ ।
रोयल इनफिल्डका राइड क्याप्टेन दिपेश श्रेष्ठ भन्छन्, ‘हाइवे कल्चर विकास भएको भए क्रुजरको चर्चा हुन्थ्यो । अर्को नेपालको बाटो पनि अल्ली फरक छ, त्यसैले क्रुजर सेग्मेन्टमा ग्राहक एड्भेन्चरमा गएको देखिन्छ ।’

