काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा वीरगंज नाका हुँदै सवारी साधन आयात बढेको छ ।
वीरगंज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिना (साउन-असोज)मा वीरगंज नाका हुँदै ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सवारी साधन आयात भएको हो ।
चालु आवमा गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब ५१ करोड रुपैयाँ बढीको सवारी आयात भएको हो । गत आवको पहिलो तीन महिनामा ६ अर्ब १९ करोड रुपैयाँ बराबरको सवारी भित्रिएका थिए ।
३ महिनामा सवारी आयातबाट ७ अर्ब ७७ करोड राजस्व रुपैयाँ राजस्व संकलन भएको छ । जबकि, गत वर्ष सोही अवधिमा ५ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालु आवको तीन महिनामा वीरगंज नाका हुँदै सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।
भित्रिए साढे २५ हजार युनिट सवारी
चालु आवको ३ महिनामा वीरगंज नाका हुँदै साढे २५ हजार युनिट सवारी साधन भित्रिएका छन् । जसमा सबैभन्दा धेरै २४ हजार ९३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । कुल ३ अर्ब ४१ करोड मूल्य बराबरको मोटरसाइकल आयात हुँदा ३ अर्ब २८ करोड राजस्व संकलन भएको छ ।
त्यस्तै, चालु आवको ३ महिनामा ६२ करोड २४ लाख रुपैयाँ बराबरको ३३० युनिट जीप, कार र भ्यानको आयात भएको छ । ती सवारीसाधनको आयातबाट १ अर्ब ७५ करोड राजस्व संकलन भएको छ ।
त्यसैगरी, चालु आवको ३ महिनामा वीरगंज नाका हुँदै ६८ करोड ५ लाख रुपैयाँ मूल्य पर्ने २२९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख राजस्व संकलन भएको छ ।
गत आवको तीन महिनाको अवधिमा भने वीरगंज नाका हुँदै १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधन आयातबाट ९ करोड ११ लाख मात्रै राजस्व संकलन भएको थियो ।

