रोजाइमा पर्दै हुन्डाईका एसयूभी, ७१ प्रतिशत पुग्यो हिस्सा

काठमाडौं । भारतीय बजारमा हुन्डाईका एसयूभीप्रति ग्राहकको आकर्षण बढ्दो क्रममा रहेको छ । बजारमा माग बढेसँगै हुन्डाईको कुल व्यापारमा एसयूभीको हिस्सा झण्डै तीन चौथाई पुगेको हो ।

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक (जुलाइ-सेप्टेम्बर) मा हुन्डाईको कुल बिक्रीको ७१ प्रतिशत हिस्सा एसयूभीले ओगटेको हो ।

हुन्डाईले आर्थिक वर्ष २०२६ को दोस्रो त्रैमासिकमा कुल ९९ हजार २२० एसयूभीहरू बेचेको छ । जुन अघिल्लो वर्षको तुलनामा ७१ प्रतिशत धेरै हो ।

हुन्डाईको एसयूभी पोर्टोेफोलियोमा एक्स्टर, क्रेटा, भेन्यू जस्ता मोडेलहरू रहेका छन् । भारतीय ग्रामीण क्षेत्रमा यी एसयूभीहरूको माग ठूलो रहेको बताइन्छ ।

ग्रामीण क्षत्रेका ग्राहकले हुन्डाईका डिजेल एसयूभीहरू धेरै मन पराएका छन् । आर्थिक वर्ष २०२५ को दोस्रो त्रैमासिकमा डिजेलबाट चल्ने सवारी साधनको कुल बिक्रीको २३ प्रतिशत हिस्सा रहेकोमा यस वर्ष २४ प्रतिशत योगदान पुर्याएको छ ।

ग्रामीण बजार बिक्रीमा एसयूभीको हिस्सा ७२ प्रतिशत रहेको छ, जुन शहरी बजारको तुलनामा थोरै बढी हो।

‘यस (त्रैमासिक)मा ग्रामीण योगदान २३.६-२४ प्रतिशत पुगेको छ, जसमा ग्रामीण एसयूभीको हिस्सा ७२ प्रतिशत रहेको छ । जुन शहरी भन्दा अलि बढी छ,’ हुन्डाई इन्डियाका निर्देशक तथा प्रमुख संचालन अधिकृत तरुण गर्गले भने ।

उनका अनुसार हुन्डाईका ६० प्रतिशतभन्दा बढी खरीदकर्ता ४० वर्षभन्दा कम उमेरका छन्, जसले ब्राण्डप्रति बलियो विश्वास झल्काएको उनको भनाइ छ ।

हुन्डाई इन्डियाले दोस्रो त्रैमासिकमा घरेलु बजारमा कुल १ लाख ३९ हजार ५२१ युनिट खुद्रा बिक्री गरेको थियो । यस त्रैमासमा निर्यात २१.५ प्रतिशतले वृद्धि भएको छ ।

हुन्डाईले गत त्रैमासिकमा भारतबाट ५१ हजार ४०० युनिट निर्यात गरेको थियो । मध्य पूर्व र मेक्सिको प्रमुख बजार हुन् । मध्य पूर्वमा औरा र भेन्यूले सबैभन्दा धेरै निर्यात भएको छ ।

विगत लामो समयदेखि भारतीय बजारमा हुन्डाई प्यासेन्जर भेहिकल सेगमेन्टमा दोस्रो ठूलो अटो ब्राण्डको रुपमा रहँदै आएको थियो । तर, पछिल्ला केही महिनाहरूमा एसयूभी मोडेलहरूको बिक्रीमा ठूलो वृद्धिका कारण टाटा मोटर्स र महिन्द्रा एण्ड महिन्द्राले हुन्डाईलाई पछि पारेका छन् ।


Back_to_top