विश्वव्यापी पहुँच बढाउँदै जिली, किन्यो रेनो ब्राजिलको २६.४% स्वामित्व

काठमाडौं । चिनियाँ अटो जायन्ट जिलीले रेनो ब्राजिलको साढे २६ प्रतिशत शेयर खरिद गर्ने भएको छ ।

जिली होल्डिङ ग्रुप र जिली अटोले रेनो डो ब्राजिलको २६.४ प्रतिशत हिस्सेदारी पाउने गरी रेनो ग्रुपसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

२६.४ प्रतिशत शेयर बिक्रीपछि पनि रेनो समूह रेनो डो ब्राजिलको मुख्य शेयर होल्डर नै रहेको छ ।

यससँगै दक्षिण अमेरिकामा जिलीको पहुँच विस्तारमा सहयोग पुग्नेछ । ‘जिलीले अब यस क्षेत्रमा आफ्नो विस्तारलाई तीव्र बनाउन रेनो डो ब्राजिलको औद्योगिक र कमर्शियल स्रोतहरूको फाइदा उठाउन सक्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ।

यसअघि नै ब्राजिलमा जिलीको ईएक्स फाइभ इलेक्ट्रीक एसयूभीहरू रेनोको डिलरशिप मार्फत बिक्री भइरहेकाे छ ।

अब रेनो डो ब्राजिलले परानाको साओ जोसे डोस पिनहाइसमास्थित एर्टन सेन्ना प्लाण्टमा जिली अटो ब्राण्ड र रेनो दुवैका सवारी साधन उत्पादन हुने विज्ञप्तिमा उल्लेख छ ।

साथै, रेनोले ब्राजीलको बजारमा शून्य कार्बन उत्सर्जन र न्यून उत्सर्जन सवारी साधन लाइनअप विस्तार गर्न जिलीको नयाँ ऊर्जा प्लेटफर्मको प्रयोग गरी लाभ उठाउने छ ।

जिलीको ईएक्स फाइभ नेपाली बजारमा पनि बिक्री भइरहेको छ ।


Back_to_top