काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडक विस्तारको कामले गति लिन थालेको छ । निर्माण थालिएको ७ वर्षसम्म सम्पन्न हुन नसकेको आयोजनाको कामले पछिल्लो समय भने गति लिन थालेको हो ।
यस सडककाे काम थालिएको ५ वर्षमा आधा पनि काम सकिएको थिएन । तर, पछिल्लो दुई वर्षमा झण्डै २५ प्रतिशत प्रगति भएको हो । ११३.५३ किलोमिटर सडकलाई दुई खण्डमा ठेक्का लगाइएको छ । नारायणगढ-दाउन्ने (पूर्वीखण्ड) ६५ किमी र दाउन्ने-बुटवल (पश्चिम खण्ड) ४८.५ किमी विभाजन गरिएको छ ।
हालसम्म यस सडकको समग्र भौतिक प्रगति ७३.५ प्रतिशत पुगेको छ । नारायणगढ-बुटवल ११४ किमी सडकमध्ये हाल १०४ किमी खण्डमा कालोपत्र र ढलान सडक हुँदै यात्रा गर्न सकिन्छ । दाउन्ने क्षेत्रको करिब १० किमी सडक मात्र ढलान र कालोपत्र हुन बाँकी छ ।
त्यस्तै, समग्रमा कुल सडकको ६८ प्रतिशत अर्थात् ७८.५ किमी सडक चारलेनमा कालोपत्र भइसकेको छ । पूर्वीखण्डमा ४७ किमी र पश्चिम खण्डमा ३१.५ किमी सडक चारलेनमा कालोपत्र भइसकेको आयोजनाले जनाएको छ । अहिले बाँकी ठाउँमा पनि धमाधम कालोपत्रको काम भइरहेको छ ।
दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । यसको लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ । निर्माण सम्पन्नपछि पनि ५ वर्षसम्म ठेकेदार कम्पनीले नै सडक मर्मत सम्भार गर्नुपर्ने सम्झौता छ ।
कुन खण्डको कस्तो छ प्रगति
नारायणगढ–बुटवल सडक योजना (पूर्वीखण्ड)का सूचना अधिकारी शिव खनालका अनुसार यस खण्डको भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ ।

कुल ६५ किमी सडकमध्ये ६१ किमी चार लेनमा कालोपत्र गर्नुपर्ने छ । कुल १३० किमी (दुईलेन) सडक कालोपत्र गर्नुपर्नेमा १२० किमी पूरा भएको छ । ४७ किमी चारलेनमै कालोपत्र सम्पन्न भएको उनले बताए ।
‘पूर्वीखण्डको ६५ किमीमध्ये अहिले ६२ किमीमा कालोपत्र सडकमा गाडी गुडाउन मिल्छ । दाउन्ने क्षत्रेमा करिब २ किमी मात्र कालोपत्र र ढलान हुन बाँकी छ,’ उनले मरोअटोसँग भने ।
दाउन्ने क्षेत्रको ४ किमीमध्ये २२०० मिटर ढलान र १८०० कालोपत्र गर्नुपर्नेछ । सोमध्ये ११०० मिटर ढलान भइसककेको उनले बताए । यस क्षेत्रको बाँकी काम धमाधम भइरहेको उनले बताए ।
उनका अनुसार पूर्वीखण्डका ३४ वटा पुलमध्ये ३२ वटा निर्माण सम्पन्न भइसकेको छन् । सम्पन्न भएका ३२ वटै पुल संचालनमा आएको उनले बताए । अब चोरमारा र अरुणखोला पुल मात्रै सम्पन्न हुन बाँकी छ । ‘पूर्वीखण्डका अब दुई वटा पुल मात्रै बनाउन बाँकी छ । चोरमारा पुल मंसिरसम्म सम्पनन हुन्छ । अरुणखोलाको पुलमा अहिले बिम राख्ने काम भइरहेको छ । चालु वर्ष भित्रै सम्पन्न हुन्छ,’ उनले भने । त्यस्तै, यसखण्डमा निर्माण गर्नुपर्ने २११ वटै कल्भर्ट निर्माण सम्पन्न भएको उनले बताए ।
४८.५ किमी लामो पश्चिम खण्डको हालसम्म ७३ प्रतिशत काम सकिएको आयोजनाका सूचना अधिकारी विकाश खनालले जानकारी दिए । उनका अनुसार दुवैतर्फगरी कुल ९७ किमी (दुईलेन) सडक कालोपत्र गर्नुपर्नेमा हालसम्म ७२ किमी सम्पन्न भएको छ । जसमा दाँयातर्फ ३५.२ र बाँयातर्फ ३७.०५ किमी दुईलेनमा कालोपत्र भएको छ । ३१.५ किमी क्षेत्रमा चार लेनमै कालोपत्र पूरा भएको छ । अब दाउन्ने क्षेत्र बाहेक अन्य सबै क्षेत्रमा एकतर्फी कालोपत्र भइसकेको उनले बताए ।
उनले दाउन्ने क्षेत्रमा तीव्र गतिमा काम भइरहेको बताए । उनका अनुसार दाउन्नेमा पश्चिमखण्डमा १० किमी सडक पर्छ । सोमध्ये ५ किमी ढलान र ५ किमी कालोपत्र गरिने छ । ५ किमी ढलान गर्नुपर्नेमा हालसम्म १७०० मिटरमा काम सकिएको उनले बताए । त्यस्तै, ५ किमी कालोपत्र गर्नुपर्नेमा ३ किमी सकिएको उनले बताए ।
‘अहिले दाउन्ने बाहेक क्षेत्रमा कालोपत्र सडकबाटै यात्रा गर्न सकिन्छ । दाउन्नेमा पनि ढलान, कल्भर्ट, नाला निर्माण लगायत पनि धमाधम काम भइरहेको छ ५ किमीमध्ये १७०० मिटरमा ढलान सकिसक्यो,’ उनले मेरोअटोसँग भने ।
ठेकेदारले दाउन्ने क्षेत्रको सबै सडक ढलान गर्न प्रस्ताव गरेको भए पनि ओसिलो, उकालो, घुम्तीहरूमा मात्र ढलान गर्न लागिएको उनले बताए ।

पश्चिमखण्डका २५६ वटा कल्भर्टमध्ये २४४ वटा निर्माण सम्पन्न भइसकेको र १२ वटा निर्माणाधीन अवस्थामा रहेको आयोजनाका सूचना अधिकारी खनालले जानकारी दिए ।
त्यस्तै, यसखण्डका ९ वटा ठूला पुलमध्ये सबै निर्माण सम्पन्न भइ संचालनमा समेत आइसकेको उनले बताए । ३८ वटा साना पुलमध्ये ३५ वटा बनिसकेको उनले बताए ।
कालोपत्र सकिएको ठाउँमा रोड मार्किङ, मिडियन, बजार क्षेत्रमा सर्भिस लेन कालोपत्रको काम पनि अगाडि बढाउने तयारी भइरहेको उनले बताए ।
‘यस वर्ष सकिन्छ काम’
३ पटक म्याद थप्दा पनि नसकिएको आयोजनाको काम यस वर्ष भने सकिने आशा गरिएको छ । पूर्वीखण्डका सूचना अधिकारी खनाल चालु आव भित्रै आयोजनाको काम सकिने बताउँछन् । ‘विगतमा ठेकेदारले वर्षामा काम गर्दैन्थ्यो । यसवर्ष काम सक्नेगरी जाशक्ति परिचालन गरिरहेको छ । अब मुख्य रूपमा दाउन्ने क्षेत्रमा मात्र काम बाँकी छ । यही गतिमा गरे समय अगावै सक्ने देखिन्छ,’ उनले भने ।
पश्चिम खण्डका सूचना अधिकारी खनालले निर्माण कम्पनीले आगामी वैशाख भित्र सबै काम सक्ने प्रतिबद्धता जनाएको बताए । बाँकी काम सक्न दाउन्ने बाहेक अन्यत्र धेरै समय नलाग्ने उनको भनाइ छ ।
ठेकेदारले वैशाख भित्रै काम सक्छु भनेको छ । सोही अनुसार जनशक्ति खटाइरहेको छ । दाउन्ने क्षेत्रमा ढलान गर्न समय लाग्ने हो । अन्यत्र कालोपत्र गर्न खासै समय लाग्दैन, उनले भने ।
चौथोपटक म्याद थप
साढे ३ वर्षमा सक्नुपर्ने काम ७ वर्षमा सम्पन्न नगर्दा पनि सरकारले ठेकेदारलाई उल्टो पुरस्कार गर्दै आएको छ । अर्थात् ठेक्का तोडेर जरिवाना गर्नुपर्नेमा हरेक वर्ष म्याद थप्दै आएको छ ।
२०७५ माघमा ४२ महिना भित्र काम सक्ने गरी सुरू गरिएको नारायणघाट-बुटवल सडक २०७९ साउन २२ भित्र सक्नुपथ्र्यो । ठेक्का अवधि भित्र आधा पनि काम नसकिएपछि सरकारले पहिलो पटक १ वर्ष म्याद थपेको थियो । त्यसपछि पनि काम नसकिएपछि सरकारले हरेक वर्ष साउनमा १/१ वर्ष म्याद थप्दै आएको छ । चौथोपटक थपिएको म्याद २०८३ साउन ७ गतेसम्म रहेको छ ।
विदेशी ऋण सहयोगमा निर्माण भइरहेको र ठेकेदार समेत विदेशी भएकाले ठेक्का तोडी नयाँ प्रक्रिया थाल्न धेरै समय लाग्ने भएकाले म्याद थप्दै आएको सरकारी अधिकारीहरू बताउँछन् ।

