काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउन-असोज)मा सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाले ८३ करोड रुपैयाँ बढी कर्जा दिएका छन् ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार असोज मसान्तसम्म सवारी साधन खरिद प्रयोजनका ८३ करोड १७ लाख रुपैयाँ हायरपर्चेज कर्जा लगानी गरेका हुन् ।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेकोमा असोज आइपुग्दा बढेर १ खर्ब २९ करोड ५२ लाख रुपैयाँ पुगेको हो ।
चालु आवमा समग्रमा हायर पर्चेज कर्जा लगानी ०.६ प्रतिशतले बढेको हो । चालु आवमा अटोमोबाइल बजार चलायमान भए पनि कर्जा लगानी भने सुस्त देखिएको हो ।
निजीभन्दा कमर्शियल गाडी किन्न लिए धेरै ऋण
चालु आवमा निजी सवारीभन्दा व्यापारिक प्रयोजन (कमर्शियल) सवारी खरिदका लागि धेरै कर्जा लिएका छन् । राष्ट्र बैंकका अनुसार ३ महिनामा कमर्शियल सवारी किन्न ५९ करोड १२ लाख रुपैयाँ र निजी सवारी किन्न २४ करोड ६ लाख रुपैयाँ कर्जा लगानी भएको हो ।
चालु आवमा निजी सवारी किन्न लिने कर्जाको वृद्धिदर ०.६ प्रतिशत र कमर्शियल सवारीको ०.७ प्रतिशत रहेको छ ।
गत असार मसान्तसम्म कमर्शियल सवारीमा बैंक तथा वित्तीय संस्थाहरूले ८६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा भदौ मसान्तसम्म बढेर ८६ अर्ब ६९ करोड रुपैयाँ पुगेको हो ।
त्यस्तै, असार मसान्तसम्म निजी सवारीमा ४२ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी भएकोमा असोज आइपुग्दा ४२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।


