ट्राफिकले भेट्टाएर बुझायो चोरी भएका ५१ मोटरसाइकल र स्कुटर

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

बिहीबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३३ वटा मोटरसाइकल र १८ वटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा ती सवारी साधन केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ ।

ट्राफिकले काठमाडौं उपत्यकाका गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभु, लगायत स्थानबाट ती सवारी साधन फेला पारेको हो ।

ट्राफिकले गत साउन यता ९१ वटा (आज बुझाइएका ५१ सहित) फेला पारी धनीलाई जिम्मा लगाइसकेको छ ।

ट्राफिकले आर्थिक वर्ष २०८०/८१ मा ४१७ वटा र ०८१/८२ मा ५०३ वटा दुईपाङ्ग्रे सवारी फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।

१९ जना चोर नियन्त्रणमा

ट्राफिक प्रहरीले सवारी साधन चोरीमा संगल्न संलग्न १९ जना व्यक्तिहरूलाई ९ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत(जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गरेका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


Back_to_top