मारुती सुजुकीले चर्चित कम्प्याक्ट एसयूभी भिटारा ब्रेजा पेट्रोल इन्जिनमा ल्याउने भएको छ । भारतीय बजारमा निक्कै लोकप्रिय रहेको ब्रेजा हाल डिजेल भर्सनमा मात्र उपलब्ध रहेको छ ।
मारुती सुजुकीले यसअघि सियाज र सेकेन्ड जेनेरेसन इर्टिगा एमपीभीमा दिएको १.५ लिटर पेट्रोल इन्जिनमा नै ब्रेजा आउने आँकलन गरिएको छ । सियाजमा प्रयोग भएको पेट्रोल इन्जिन १४६२ सीसीको रहेको छ, जसले १०५ एचपी र १३८ एनएम टर्क जेनेरेट गर्छ । ब्रेजामा मारुतीको स्मार्ट हाइब्रिड सिस्टमसमेत प्रयोग हुने अनुमान गरिएको छ ।
बलेनो आरएसमा प्रयोग भएको १.० लिटर बोस्टर जेट पेट्रोल इन्जिन ब्रेजामा समेत प्रयोग हुनसक्ने अटोकारले लेखेको छ । पुरानो १.५ लिटर मोटरले पावर केही बढी दिएपनि यो अहिलेको अवस्थामा कम आकर्षक मानिन्छ ।
भिटारा ब्रेजा पेट्रोलमा ५ स्पीड म्यानुअल गेयरबक्स रहने र ४ स्पीड अटोमेटिक ट्रान्समिसनमा समेत ल्याउने छ । भिटारा ब्रेजाले फोर्ड इकोस्पोर्ट १.५ लिटर पेट्रोल, टाटा नेक्सन १.२ टर्बो पेट्रोल तथा महिन्द्रा एक्सयूभी–३०० १.२ लिटर टर्बो पेट्रोल इन्जिन उपलब्धसँग प्रतिस्पर्धा गर्नेछ । नयाँ आउने कार बीएस–६ इन्जिनयूक्त हुने छ । यसलाई कम्पनीले २०२० फेब्रुअरीसम्ममा बजारमा बिक्री वितरण सुरु गर्ने आँकलन गरिएको छ ।

