काठमाडौं । टाटा मोटर्सले भर्खरै भारतमा सार्वजनिक गरेको सियरा एसयूभी अहिले चर्चाको शिखरमा छ । भारतीय कार उत्पादकले आफ्नो पुरानो नेम प्लेटमा ल्याएको विल्कुलै नयाँ एसयूभी स्पीडको कारण पनि चर्चामा आएको हो ।
भारतको रेसिङ ट्रयाकमा २२२ किलोमिटर प्रतिघन्टाको स्पीडमा एसयूभी दौडिएको भिडियो अहिले भाइरल नै भएको छ । बक्सी डिजाइन, सार्प बडी स्टाइल र यूनिक डिजाइनमा तयार भएको एसयूभीको पछाडिको भागले धेरैलाई लोभ्याइरहेको छ ।
टाटा मोटर्सले निकै शक्तिशाली १.५ लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ । टर्बो इन्जिन भएको सियरा तीन भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीले एड्भेन्चर प्लस, अकम्प्लीस्ड र अकम्प्लीस्ड प्लस भेरियन्टमा ल्याएको हो । यसको सुरुवाती एड्भेन्चर भेरियन्टको मूल्य १७ लाख ९९ हजार भारतीय रुपैयाँ तोकिएको छ ।
यसमा प्रयोग भएको १.५ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन भएको सियरा भने ११ लाख ४९ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) बाटै बिक्री सुरु हुन्छ । पेट्रोल र डिजेल दुबै इन्जिनमा सियरा उपलब्ध हुनेछ ।
भारतीय बजारमा सर्वाधिक सफल कम्प्याक्ट एसयूभी हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न आएको टाटा सियराले मारुती सुजुकी ग्राण्ड भिटारा, किया सेल्टोस, टोयोटा हाइराइडर जस्ता मोडलसँग पनि भिड्नु पर्नेछ । यसको लम्बाइ पनि प्रतिस्पर्धी जस्तै ४३४० एमएम लामो छ ।

टाटाले यसको चौडाइ १८४१ एमएम र उचाइ १७१५ एमएम दिएको छ । जुन उचाइ सबै प्रतिस्पर्धीभन्दा अग्लो हो । यसमा २०५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स र ६२२ लिटरको विशाल बुट स्पेस पाउन सकिन्छ ।
टाटाले सियराको ड्यासबोर्डमा १२.३ इन्चको टच स्कृन, १०.२ इन्चको इन्फर्मेसन डिस्प्ले, स्न्याप ड्रायागनको चीप, एलइडी लाइटहरु, १९ इन्चको अलोय ह्वील, पावर्ड टेलगेट दिएको छ ।

टाटाले आफ्नो निकै अपेक्षा गरिएको एसयूभीमा फ्लस टाइप डोर ह्याण्डल, ठूलो साइजको पानारोमिक सनरुफ, एडास लेभल टु, भ्यान्टिलेटेड सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, जेबीएलको १२ स्पीकर दिएको छ । चालकलाई थप ड्राइभिङ प्लेजर प्रदान गर्न प्याडल सिफ्टर, वायरलेस चार्जर, एयर-इन्फ्यूड हेड अप डिस्प्ले दिएको छ ।
छिट्टै इलेक्ट्रीक भर्सनमा पनि आउने सियरा नेपालको लागि पनि निकै ‘रोचक’ मोडल बन्ने अनुमान गर्न सकिन्छ । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले फेब्रुअरीमा सियरा नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।

