नेपालमा परीक्षण हुँदै नयाँ डबल पर्पस मोटरसाइकल, टक्कर एक्सपल्ससँग

काठमाडौं । नेपालमा नयाँ डबल पर्पस मोटरसाइकलको परीक्षण सुरु भएको छ । काठमाडौंको बिभिन्न स्थानमा नयाँ मोटरसाइकलको सडक परीक्षण चलिरहेको हो ।

मंगलबार साँझ एकान्त कुनामा रगेड लुक्स भएको डबल पर्पस मोटरसाइकल देखिएको थियो। झट्ट हेर्दा २०० सीसीभन्दा ठूलो इन्जिन हुनसक्ने उक्त मोटरसाइकल सीएफ मोटोले उत्पादन गरेको अनुमान गर्न सकिन्छ ।

बाइकको एक्जष्टबाट निस्कने ‘साउन्ड’ निकै ठूलो सुनिएको थियो । आज बुधबार नै सीएफमोटो नेपालले आफ्नो सोसल मिडियामा एक पोस्ट गर्दै नयाँ मोटरसाइकल नेपाल आउन लागेको जानकारी दिएको छ ।

कम्पनीले आफ्नो इन्स्टाग्राममा सीएफ मोटो २५० डुअल कमिङ सुन टिजर सार्वजनिक गरेको हो । त्यसले हिजो देखिएको मोटरसाइकल र सीएफ मोटोले नेपाली बजारमा ल्याउन लागेको नयाँ मोटरसाइकल एउटै भएको पुस्टि हुन्छ ।

रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटोका मोटरसाइकलको बिक्री वितरण गर्दै आएको छ ।

झट्ट हेर्दा यो मोटरसाइकलले हिरो एक्सपल्स र होन्डा एक्सआर १९० सँग प्रतिस्पर्धा गर्ने देखिन्छ । सीएफ मोटोले अन्तर्राष्ट्रिय बजारमा सीएफमोटो २५० डुअल मोटरसाइकल बिक्री गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा उपलब्ध २५० डुअलमा २४९ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन उपलब्ध छ । उक्त इन्जिनले २४ बीएच पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसको सिट हाइट ८४० एमएम र ग्राउन्ड क्लियरेन्स २४५ एमएम अग्लो छ ।

डबल पर्पस टायर रहेको यो मोटरसाइकल डबल च्यानल एबीएस, यूसडी/मोनोशक सस्पेन्सन उपलब्ध छ ।

सीएफ मोटो नेपालले हाल नेपाली बजारमा २०० एनएके, २५० एनके, ३०० एनके , ४५० एनके र ४५० एमटी मोटरसाइकल बिक्री गर्दै आएको छ । ४५० एमटीले नेपाली बजारमा राम्रो चर्चा पाइरहेको समयमा कम्पनीले २५० सीसी डुअल पर्पस मोटरसाइकल नेपाल भित्र्याउने हो भने राम्रो ब्यापार गर्न सक्ने देखिन्छ ।

कम्पनीले हाल टिजर मात्र सार्वजनिक गरेको हो । कम्पनीले सीएफ मोटो २५० डुअल के कस्ता फिचर सहित ल्याउँछ र कुन मितिबाट बिक्री थाल्छ भन्ने एकिन जानकारी दिएको छैन ।


Back_to_top