काठमाडौं । चीनको चार ठूला कार निर्मातामा आफुलाई उभ्याउन थालेको चांगानले ३ करोड युनिट कार उत्पादन पुरा गरेको छ । कम्पनीले अबतार १२ मोडललाई तीन करोडौं युनिटको रुपमा उत्पादन गरेको हो ।
आफ्नो कार उत्पादनको ४१ वर्षमा ३ करोड युनिट पुरा गरेको चांगानले पछिल्लो एक करोड युनिट केबल ४ वर्षमा पुरा गरेको हो । सुरुको एक करोड युनिट उत्पादनको लागि ३० वर्ष लगाएको कम्पनीले दुई करोड युनिट भेट्टाउन अर्को ७ वर्ष लगाएको थियो ।
चांगानले आफ्नो तीन करोड युनिटको रुपमा उत्पादन गरेको अबतार १२ निकै प्रिमियम क्रसओभर मोडल हो । यसमा ४ वटा लाइडार सेन्सर प्रयोग गरिएको छ । अबतार १२ मोडलमा ३ वटा लङ रेन्ज युनिट र एउटा हाइ प्रिसिजन सोलिड स्टेट लाइडार प्रयोग भएको छ । अबतार १२ ले सेन्टिमिटर लेभलको एक्कुरेसीमा ३६० डिग्री देखाउने छ ।
चांगानको विश्वभर ११ हजार ६३२ सेल्स च्यानल रहेको छ । कम्पनीले बिजनेश स्कोप बढाउन ह्युमनोइड रोबोर्टको मास प्रोडक्सन २०२८ बाट सुरु गर्दैछ । साथै, एयरट्याक्सी सर्भिस पनि सन् २०३० बाट सुरु गर्दैछ ।
कम्पनीले चांगान, दीपल, नेभो र अबतार ब्राण्डका भेहिकलहरु उत्पादन गरिरहेको छ । चांगान अटोमोवाइलले गत नोभेम्बरमा २ लाख ८४ हजार १९७ युनिट कार बिक्री गरेको थियो ।
कम्पनीको न्यू इनर्जी भेहिकल बिक्री समेत यस बर्ष १० लाख युनिट पुरा भएको छ । दीपल, अबतार र नेभो चांगान ग्रुपको न्यू इनर्जी भेहिकल ब्राण्डहरु हुन् ।
नेपाली बजारमा यी तीनै ब्राण्डको उत्पादन उपलब्ध हुनेछ । तर, नेभो ब्राण्डमा उत्पादन भएका कारहरु दीपल ब्राण्डमै आउने छन् ।

